काठमाडांै । तत्कालीन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोवनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकै चर्चामा रहेका गीतका गायक सुमन शेखर मानन्धर विगत केही वर्षयता केही समय हराएका थिए । करिब ५० भन्दा बढी गीत गाइसकेका गायन सुमनका राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पपगीतका क्षेत्रमा एकैसाथ सफलता हासिल गरेका भर्सटायल गायक हुन् । लामो अन्तरालसम्म सांगीतिक क्षेत्रमा उपस्थिति नहुनुले संगीतप्रेमीहरुलाई कौतुहलता थपेको थियो । गायक सुमन भने संगीतबाट टाढा थिएनन् । नयाँ गीतहरु रेकर्ड नगरीकन बसेता पनि उनले नियमित साधना र रियाज कहिल्यै छाडेनन् । पढाइको सिलसिलामा पाकिस्तानमा रहेका बेला उर्दू भाषा बोल्न, लेख्न र पढ्न सिकेका गायक सुमनको रुचि विशेषत पाकिस्तानी गजलमा लगाव छ जुन कुरा जनमानसमा कमैलाई थाहा छ ।
अस्ट्रेलियाबाट स्नातकोत्तरको पढाइको सिलसिलामा रहँदा थुप्रै कार्यक्रम गरी भरपुर मनोरञ्जन दिएका गायक मानन्धर नेपाल फर्केलगत्तै जागिरे जीवनमा व्यस्त थिए । केही वर्षको तयारीपछि मानन्धरले वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा एक भव्य विमोचन समारोह गरी समिप एल्बम सार्वजनिक गरेका हुन् । एकल संगीतकार राजु सिंहको संगीतमा सुमनको समिप एल्बममा रहेको बोल्न पनि डराउँछौ भन्ने गीतको म्युजिक भिडियो पनि भरखरै सार्वजनिक भएको छ । यसमा वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना छ ।
प्रतिक्रिया