कलाकारको होलीमा हंगामा

काठमाडौं । नेपाली चलचित्रका चर्चित कलाकारहरु फागू पूर्णिमामा आत्मीयता साट्दै रमाएका छन् । होली पर्वको अवसरमा रंग दल्दै, आत्मीयता साट्दै कलाकारहरुले एक अर्कालाई शुभकामना आदान प्रदान गरेका हुन् । नायिका करिश्मा मानन्धरले सधैँ जस्तै, यसपटक पनि आफ्नै निवासमा होलीको आयोजना गरिन् । जहाँ, नेपाली चलचित्र क्षेत्रका सबैजसो चलचित्रकर्मी पुगेका थिए । नायिका रेखा थापा, झरना थापा, संचिता लुइँटेल, प्रियंका कार्कीदेखि नीता ढुंगाना, अनु शाह, पवित्रा आचार्य, खुश्वु खड्कासम्म करिश्माको होलीमा पुगेका थिए । होलीमा चलचित्रकर्मी विनोद मानन्धरको जन्मदिन पनि सेलिव्रेशन गरिएको थियो । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी होली मनाउन करिश्मा निवास पुगिन् । करिश्माका होलीमा कलाकार र दर्शकको बाक्लो सहभागिता रहेको थियो । नेपालीदेखि हिन्दी गीतमा उपस्थित कलाकारले खुलेरै मनोरञ्जन लिए । यता, निर्माता छविराज ओझाले पनि आफ्नै निवासमा होलीको आयोजना गरेका थिए । चलचित्रकर्मीले ओझाको अफिसमा पुगेर होलीको शुभकामना दिए । यस्तै, टीभी फिल्मीले आयोजना गरेको होलीमा पनि कलाकारको उपस्थिति बाक्लो देखियो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीदेखि चलचित्र ‘पर्व’ का मुख्य कलाकार नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, निर्माता सुवास गिरी, निर्देशक दिनेश राउत होलीको शुभकामना दिन पुगेका थिए । यसपटकको होलीमा चलचित्र ‘पर्व’ मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत सर्वाधिक गुञ्जियो ।
नेपाली चलचित्रका कलाकारले होलीलाई आत्मीयता साट्ने पर्वको रुपमा मनाउँदै आएका छन् । नायिका करिश्मा मानन्धरले हरेक बर्ष होलीको आयोजना गरेर सिंगो चलचित्र क्षेत्रलाई नै एक ठाउँमा ल्याउने गरेकी छिन् । यसपटकको होलीमा, चलचित्रका निर्माताहरुले टिसर्टमा चलचित्रको नाम प्रिन्ट गरेरै होली खेले । होली, चलचित्रको प्रचार गर्ने राम्रो पर्व पनि बनेको छ । ‘मेला, पर्व, रोमियो’ देखि विभिन्न चलचित्रका नाम लेखिएका टिसर्ट लगाएर चलचित्रकर्मी विभिन्न स्थानमा पुगेका थिए ।

 

प्रतिक्रिया