बारा १८ फागुन। जिल्ला वन कार्यालय बाराले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा काठ तथा दाउरा बिक्रीबाट दुई करोड ९६ लाख ७८ हजार आठ सय ३८ रुपैयाँ संकलन गरेको छ । आव ०७३÷७४ मा ४६ हजार नौ सय ८८ दशमलव ८४ घनफिट काठ बिक्रीबाट दुई करोड ९६ लाख ७४ हजार आठ सय ३८ र एक चट्टा दाउरा बिक्रीबाट चार हजार गरी दुई करोड ९६ लाख ७८ हजार आठ सय ३८ रुपैयाँ संकलन गरेको वन संरक्षण तथा सदुपयोग शाखाका प्रमुख सहायक वन अधिकृत श्यामनन्दन सिंहले बताए । वन कार्यालय बाराले चालु आवको पुस महिनासम्म चार हजार सात सय ४९ दशमलव २९ घनफिट र सात दशमलव २५ दाउरा संकलन गरेको छ ।
गत आवमा जिल्ला वन कार्यालयले ७३ हजार ६ सय ४९ दशमलव ०२ घन फिट काठ बिक्रीबाट सात करोड ७० लाख ६९ हजार पाँच सय २३ रुपैयाँ राजस्व र ४६ दशमलव पाँच दाउरा बिक्रीबाट सात लाख नौ हजार पाँच सय नौ रुपैयाँ संकलन गरेको कार्यालय स्रोतले जनाएको छ । बारामा वन पैदावारमा आधारित उद्योगहरूमा स.मिल र भेनियर उद्योग ७७, इँटा टायल उद्योग ९८, कत्था उद्योग तीन, कोइला उद्योग एक, फर्निचर उद्योग ८०, ढुंगा क्रसर उद्योग २८ र जडिबुटी प्रशोधन प्लान्ट उद्योग तीन गरी दुई सय ८० वटा उद्योगहरू सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया