म्याग्दीको दुर्गम गाउँ साक्षर घोषणा

म्याग्दी, २६ माघ । म्याग्दीको अत्यन्त दुर्गम कुइनेमंगले गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । १५ देखि ५९ वर्ष उमेर समूहका ९६ प्रतिशत सर्वसाधारणले अंक, अक्षर चिन्न र पढ्नसक्ने भएपछि एक विशेष समारोहबीच सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।

सो अवसरमा सांसद रेशम बानियाँले शैक्षिक जागरणबाट मात्रै सामाजिक परिर्वतन सम्भव भएको बताउँदै दुर्गम क्षेत्रमा देखिएको शैक्षिक जागरणले अन्य क्षेत्रलाई पनि पाठ सिकाएको बताए ।

उनले सो गाविसमा माध्यमिक विद्यालय सञ्चालनका लागि शिक्षकको दरबन्दी र भौतिक पूर्वाधार विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाविससचिव जीतबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले साक्षरता अभियानले तीव्रता पाइरहेकाले जिल्लालाई छिट्टै साक्षर जिल्ला घोषणा गरिने बताए ।

साथै म्याग्दीमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) गरेका म्याग्देलीले आगामी फागुन १ गतेदेखि निःशुल्क सेवा पाउने भएका छन् ।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेबीच बिमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निःशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा बिमा दर्ताको प्रमाणपत्र लिएर आउने बिरामीलाई समान्यदेखि जटिल रोगको उपचारका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको डा रोशन न्यौपानेले बताए ।

‘बिमा कार्यक्रममा सहभागी भएकाले निःशुल्क सेवा पाउनु हुनेछ, त्यसैले सबैलाई स्वास्थ्य विमामा सहभागी हुन अनुरोध गर्दछु’ डा न्यौपानेले भने ।

म्याग्दीमा स्वास्थ्य बिमाप्रति आर्कषण बढेको छ । बिमा सेवामा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रूपमा प्रति परिवार २ हजार, ५ जनाभन्दा बढी भएमा प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था छ ।

प्रतिक्रिया