काठमाडौं, १३ माघ । अस्वीकृत विचार–साहित्य गुठीले ‘अस्वीकृत विचार–साहित्य पुरस्कार’ र ‘अस्वीकृत विचार–साहित्य सम्मान’ घोषणा गरेको छ । गुठीले अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार श्री सुरेन्द्र लिम्बू परदेशी हाल (भारत) लाई र अस्वीकृत विचार–साहित्य सम्मान वरिष्ठ साहित्यकारद्वय श्री कृष्णप्रकाश श्रेष्ठ (मास्को, रुस) र प्राडा कविता लामा (सिक्किम, भारत) लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार तथा सम्मान वितरण कार्यक्रम ०७३ साल फाल्गुन ७ गते स्वर्ण शिक्षा इमावि गोकर्णमा हुने भएको छ ।
साहित्यकार श्री सुरेन्द्र लिम्बू परदेशी मादी न.पा. १३ फाबिङ, संखुवासभा, नेपालमा जन्मनु भई हाल भारतमा कार्यरत रहेका छन् । उनका अधुरो जीवन (उपन्यास) र परदेशीको चुनौति (कथा संग्रह) साथै १ सय ४० जति फुटकर रचनाहरू प्रकाशित छन् । उनले अपाराधी को हो ? तिम्रै लागि, र बसन्त ऋतु नामक चलचित्रमा अभिनय गरेका छन् । उनले नेपालमा तङसिङ (त्रैमासिक ०५४—५६) र सुनौलो प्रभात (अर्धवार्षिक ०५७—५९) सम्पादन गरेका थिए भने भारतमा अस्ताएको जुन (विविध रचना संग्रह, २०६४) र परदेशी बिम्बहरू.. साहित्यिक वार्षिक (२०६५ देखि हाल नवौँ अंकसम्म) सम्पादन गरिरहेका छन् ।
हाल उनी ‘अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह’का अध्यक्ष तथा ‘विश्व नेपाली साहित्य महासंघ’ विश्व केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष रहेका छन् । वरिष्ठ सर्जक श्री कृष्णप्रकाश श्रेष्ठ १९९४ मा थानकोट, काठमाडौँमा जन्मी हाल मास्को, रुसमा स्थापित साहित्यकार हुन् । पेशाले पत्रकार, अनुवादक श्रेष्ठका सहित्यिक विधा समालोचना, नियात्रा संस्मरण, कविता, भाषानुबाद रही आएको छ ।
१९६१ मा रुसमा किरण (प्रथम नेपाली भाषा पत्रिका) को सम्पादनबाट सुरु भएको उनको सृजनशीलता १९६२ देखि रुसी भाषामा मौलिक रचनाका साथै नेपालभाषा साहित्यको रुसी भाषामा अनुवाद र १९६८ देखि रुसी भाषाका कृतिहरू नेपालीमा अनुबादमा झांगिन थालेको थियो । हालसम्म उनका नेपाली भाषाका मौलिक कृति ८, रुसी भाषाका मौलिक कृति ६, रुसी भाषाबाट नेपालीमा अनुबाद ९, नेपालीबाट रुसी भाषामा अनुबाद १३, संस्कृतबाट नेपाल भाषामा अनुबाद १ र रुसी भाषाबाट हिन्दीमा अनुबाद १ प्रकाशित कृतिहरू छन् ।
हालसम्म उनले जगदम्बा श्री— २०५९ समेत १२ वटा सम्मान पत्र, कदरपत्र र पदकहरू प्राप्त गरेका छन् । वरिष्ठ सर्जक प्रा.डा. कविता लामा १९६५ मा खर्साङ, भारतमा जन्मनु भई हाल सिक्किम विश्वविद्यालयका सहप्राध्यपक तथा लेपाली विभाग प्रमूखका रूपमा सिक्किम, भारतमा कार्यरत छन् । पेशाले प्रा.डा. लामाका सहित्यिक विधा समालोचना र कविता हो भने विशेष दखल र रुची नेपाली साहित्य तर्फको शोध, लैङ्गिक अध्ययन, र बाल साहित्य रहिआएको छ । नेपाली र अंग्रेजी पत्रपत्रिका, पुस्तक र जर्नलका सम्पादनका साथै आमन्त्रित विज्ञको रूपमा देश विदेशमा कार्यपत्र तथा प्रवचन पेश गर्नु हुने प्राडा लामाका हालसम्म ४ पुस्तक र सहलेखनमा १ पुस्तक प्रकाशित छन् । उनका पुस्तक तथा कृतिहरू भारतका विभिन्न विद्यालय तथा विश्वविद्यालयहरूमा सँन्दर्भ सामग्रीको रूपमा समावेश छन् । हालसम्म उनले २० वटा राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न पुरस्कार र सम्मानहरू पाएका छन् । विज्ञानसम्मत सिर्जनात्मक र जीवनवादी मौलिक साहित्य श्रृजना गर्ने क्रममा तत्कालिन स्थापित मूल्य र मान्यताहरूका कसीमा उपेक्षित रही ओझेलमा परेका गतिबादी साहित्यकारहरूका अभिष्टमा टेवा पु¥याउने उद्देश्यले ०५४ सालमा स्थापित यस गुठीले नयाँ आयामको खोजी गर्ने प्रगतिउन्मूख विचारहरूलाई प्रतिपादन गर्ने वा त्यस्ता बिचारहरूको सृजनात्मक प्रयोग गर्ने एकजनालाई हरेक बर्ष सम्मान ताम्रपत्र समेत रु. १२,००० (बाह्र हजार) को अस्वीकृत विचार–साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
साथै नेपाली साहित्य सम्बन्धी उल्लेखनीय सम्बद्र्धन र प्रवद्र्धनको कार्य गर्ने विशिष्ठ व्यक्तिलाई उनीहरूका योगदानको कदर गरी अस्वीकृत विचार–साहित्य सम्मान प्रदान गर्दै आएको छ । ०२६ सालदेखि आन्दोलित अस्वीकृत जमातका ‘अस्वीकृत साहित्य’ आन्दोलनको नाममा स्थापित यस पुरस्कारको स्थापना त्यसै आन्दोलनका प्रणेता डा. कविताराम श्रेष्ठले ०५४ सालमा आफूले आर्जन गरेका सम्पूर्ण लेखकीय पारश्रमिक र पुरस्कारका रकमबाट अक्षयकोष खडा गरी गरेका हुन् । गुठीका संस्थापक प्रवन्ध समितिमा अध्यक्ष स्व. श्री कृष्णचन्द्र सिंह प्रधान, सदस्य सचिब श्री नगेन्द्रराज शर्मा, कोषाध्यक्ष श्री बालकुमारी श्रेष्ठ, र सदस्यहरूमा श्री गोविन्द भट्ट, डा. अभि सुवेदी, श्री नारायण ढकाल, श्री सोमनाथ घिमिरे, अमर कुमार प्रधान थिए ।
प्रतिक्रिया