काठमाडौं, ६ माघ । कलाकार नेमबहादुर तामाङका चित्रहरुको एकल प्रदर्शनी सम्पन्न भएको छ । २६ पुसदेखि ४ माघसम्म मिथिला येँ आर्ट ग्यालरीमा चलेको प्रदर्शनीमा तामाङले भूकम्पपछिका मानव वस्तीको स्थितिलाई उतारिएका चित्र राखिएका थिए । अग्रज कलाकार तथा सृजना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल कृष्ण मानन्धरले उद्घाटन गरेको प्रदर्शनीमा उनले कलाकार तामाङ मेहनती कलाकार मात्र नभइ कुशल शिक्षकसमेत भएको बताए ।
‘वस्ती–२’ शीर्षक दिइएको प्रदर्शनीमा तामाङले २०७२ को भूकम्प पछाडिको वस्तीको परिवेशलाई कलात्मक रुपमा क्यानभासका चित्रण गरेको समीक्षक रमेश खनालले बताए । कलाकार तामाङले चित्रमा रङ र तुलिकाको प्रयोगलाई सशक्त रुपमा प्रस्तुत गरेको ग्यालरीका क्युरेटर श्यामसुन्दर यादवको भनाइ थियो ।
समय र समाजको तत्कालीन अवस्थालाई निकै कलापूर्वक क्यानभासमा उतार्न सक्ने सिर्जनशील कलाकारको रुपमा नेमबहादुर तामाङ रहेको कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले बताए ।
चित्रमा रङ, विषय, समाजको तत्कालीन अवस्था र मानिसमा रहेको आशाका विषयलाई तामाङमा क्यानभासमा उधिनेका छन् । पुनर्निर्माणको काम चलिरहेका बेला उनले त्रासदीका बीचमा पनि मानिसहरुमा देखिएको आशाका पाटालाई उनले चित्रमा प्राथमिकता दिएका छन् ।
नेपालीसँग जतिसुकै जटिल अवस्थामा पनि हाँस्न र समस्यासँग जुध्ने आँट भएको तर्क गर्दै कलाकार तामाङले भने, ‘नेपालीले त्यत्रो त्रासदीलाई पनि सहजतापूर्वक आत्मसात गर्दै समाजमा आफूलाई अन्तरघुलित बनाउँदै जीवनलाई खुसीसाथ सहज बनाइरहेका छन् । मैले तिनै हृदयस्पर्शी सुन्दरतालाई क्यानभासमा कलामार्फत् व्यक्त गरेको हुँ ।’
प्रतिक्रिया