काठमाडौं, ६ माघ । सफल चलचित्रमा काम गरेर दर्शकमाझ परिचित बन्न सकेको खण्डमा कलाकारले राम्रै माया पाउँछन् । चलचित्र ‘प्रेमगीत’मा काम नगर्दासम्म दर्शकमा खासै परिचित थिइनन्, नायिका पूजा शर्मा । तर, यो चलचित्रले उनलाई दर्शकमाझ राम्रै चिनारी बनाइदिएको छ । उनै पूजा गुल्मीको रिडीमा चलिरहेको ‘रिडी माघे संक्रान्ति मेला’मा सहभागी हुन पुगिन् । उनी, पहिलोपटक मोफसलमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।
उनले रिडीका दर्शकबाट राम्रो माया र साथ पाएको भन्दै खुशी व्यक्त गरिन् । उनीसँग सेल्फी लिनका लागि दर्शकको भीड लागेको थियो ।
कार्यक्रममा पूजाले ‘म यस्तो गीत गाउँछु र जब पुग्छु रिभर साइड’ बोलको गीतमा नृत्य गरिन् । यी दुवै गीत दर्शकमाझ चर्चित छन् ।
मोफसलका दर्शकबाट पाएको मायाले उत्साहित हुँदै पूजाले अब यस्ता कार्यक्रममा सहभागी हुने बताइन् ।
चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा रहेकी पूजाले नायक पल शाहसँग रोमान्स गर्दैछिन् । अहिले, चलचित्र तथा गीतसंगीतका कलाकारको आम्दानीको मुख्य स्रोत महोत्सव बनिरहेका छन् ।
प्रतिक्रिया