काठमाडौं, ४ माघ । साहित्यकार दुर्गाप्रसाद ग्वालटारेको लघुकथा संग्रह ‘बोधिचित्तको खेती’ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा लोकार्पण भएको छ । लघुकथा समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा लोकार्पण गरिएको लघुकथा संग्रहको बारेमा साहित्यकारद्वय पुष्पराज भट्ट र नारायण तिवारीले समीक्षा गरेका थिए ।
साहित्यकार पुष्पराज भट्टले बोधिचित्तको खेतीबारे समीक्षा गर्दै अहिलेको समय, समाज र संस्कृतिका बारेमा उत्खनन् गर्दै व्यक्तिगत जीवन र पारिवारिक जीवनका उतारचढावलाई कुशल ढंगले प्रस्तुत गरिएको बताएका छन् । मातृभूमिलाई बोकेर हिँडेका सर्जकको प्रयासलाई मनन गर्नुपर्ने बताउँदै फरक पेशा भए पनि भाषा, संस्कृति र कलाप्रतिको आकर्षण साँच्चिकै मननयोग्य भएको भट्टले बताए ।
लघुकथाहरुले आफ्नो स्थान ग्रहण गरेको भए पनि कतिपय कुरामा लेखकले ध्यान पुग्न नसकेको हो कि भन्ने कुरा औँल्याएका छन् । सूक्ष्मता लघुकथाको विशेषता भएको बताउँदै केही लघु कथाहरुमा घटनाको आधारमा कथालाई अघि बढाउनु पर्नेमा बढी नै चरित्र चित्रण भएको कुरा औँल्याए । लघुकथा लेख्नु आफैँमा ठूलो कुरा भए पनि प्रकाशनका क्रममा पुस्तकको आकार, प्रकार तथा साजसज्जाबारे धेरैको ध्यान नजाने गरेको अवस्थामा बोधिचित्तको खेती धेरै उत्कृष्ट साजसज्जामा आएको छ ।
त्यसैगरी साहित्यकार नारायण तिवारीले दुर्गाप्रसाद ग्वाल्टारेमा लघु कथा लेख्ने सामथ्र्य रहेको कुरा बोधिचित्तको खेतीले पुष्टि गरेको बताउँदै लघुकथा लेख्नु आफैँमा ठूलो कुरा भए पनि प्रकाशनका क्रममा पुस्तकको आकार, प्रकार तथा साजसज्जाबारे धेरैको ध्यान नजाने गरेको अवस्थामा बोधिचित्तको खेती धेरै उत्कृष्ट साजसज्जामा आएको बताए । ग्लाल्टारेको संग्रहभित्र समावेश ८२ वटा लघुकथाहरुमध्ये विशेष दिन शीर्षकको कथाले अत्यन्त मन छोएको साहित्यकार तिवारीले बताए । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले लघुकथाको शीर्षकले नै धेरै कुरा उजागर गरेको बताए । धेरै नेपालीको सपनाको केन्द्र नै बनेको महत्वपूर्ण फल बोधिचित्त जसरी एकाएका सबैको आकर्षण बन्यो र त्यसले धेरैको मनमस्तिष्कमा तरंग ल्यायो, त्यसैगरी ग्वाल्टारेको लघुकथाले पनि पाठकहरुको मनमस्तिष्कमा तरंग ल्याउने बताए ।
कूलपति उप्रेतीले नेपाली समाजमा लघुकथाप्रतिको आकर्षण बढ्दै गएको बताउँदै लघुकथा समाजले गर्दैआएको काम अर्थपूर्ण रहेको देश विदेशबाट भइरहेको सहयोगले यस क्षेत्रको विकासमा थप विकास गर्दै जाने विचारसमेत व्यक्त गरे ।
लोकार्पण कार्यक्रमका सभापति तथा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले दुर्गाप्रसाद ग्वाल्टारेको लघुकथा बोधिचित्तको खेतीमा समावेश भएका लघुकथाहरु पढ्दै जाँदा पहिलो कृतिको लेखक जस्तो नभइ एक स्थापित लघुकथाकारको कृतिजस्तो लागेको बताए ।
लघुकथा के हो भन्ने फेसबुक पेजसँग साक्षात्कार भएर लेख्दै जाने क्रममा जन्मिएको लघुकथा बोधिचित्तको खेतीसम्म आइपुग्दा रमेश खकुरेलको ठूलो हात रहेको कथाकार ग्वाल्टारेले बताए । ‘एउटा कविता वाचन कार्यक्रम मैले पढेको कवितालाई लिएर वा वा वा वा दुर्गाजी तपाईको यो कवितामा त सररर चित्र बहन्छ यदि उहाँले त्यो नभनिदिएको भए म त्यतातर्फ लाग्दैनथे’ ग्वाल्टारेले त्यो दिन सम्झिँदै भने । लघुकथा लेखनले आपूmलाई आराम र आनन्द दिने भएकोले लेखन नछोड्ने पनि उनले बताए ।
पेसाले इन्जिनियरसमेत रहेका ग्वालटारेको यो लघुकथा संग्रह दोस्रो कृति हो । उनको यसभन्दा पहिले २०७१ सालमा ‘सारै चिन्तित छ किस्नेको बा’ कवितासंग्रह प्रकाशित भइसकेको छ । समाजमा देखेका र भोगेका घटनालाई कथाको माध्यमबाट बाहिर ल्याउन खोजिएको यस संग्रहभित्र ८२ वटा कथाहरु समावेश गरिएका छन् । यस कवितासंग्रह प्रकाशन गरेर एक कुशल कविको परिचय बनाइसकेका ग्वालटारेले गजल विधामा पनि कलम चलाएका छन् । वि.सं. २०४९ र २०५९ मा गरी दुईपटक नेपाल सरकारबाट ‘शिक्षादिवस पदक’ पाइसकेका ग्वालटारेका मुक्तक, गजल, बालकविता र लघुकथा संग्रह प्रकाशोन्मुख रहेका छन्
प्रतिक्रिया