काठमाडौं, २९ पुस । नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ विमोचन भई बजारमा आएको छ । भारत, भूटान र म्यानमार देशको भ्रमण क्रम एक वर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, भूटान र म्यानमारमा रहेका नेपालीले आफ्नो भाषा र संस्कृतिको जगेर्नामा खेलेको प्रशंसनीय भूमिका पुस्तकमा चित्रण गरिएको छ ।
विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले पुस्तक लोकार्पण गर्दै पुस्तकमा भारतलगायतका मुलुकमा विश्वयात्रीद्वय कोहम् र सोहम्ले देखेका र अनुभव गरेका विषयलाई सरल शैलीमा प्रस्तुत गरिएकाले नयाँ पुस्तालाई उपयोगी हुने विश्वास व्यक्त गरे । योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ले नेपालको राष्ट्रिय एकता मजबुत बनाउन लेखकद्वयले विश्वयात्रा गरिरहेकाले पुस्तक कतै संस्मरण, कतै आख्यान त कतै पत्रकारिता शैलीमा विविध विषयसहित आएको विचार व्यक्त गरे ।
राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले सो पुस्तकले पाठकलाई भारतका विभिन्न प्रदेशबारे तथा त्यहाँ नेपाली संस्कृति जोगाउन त्यहाँ रहेका नेपालीद्वारा गरिएका प्रयासबारे जानकारी उपलब्ध गराउने बताउँदै विश्वदर्शन अभियान नेपालले विभिन्न समयमा गरेका सामाजिक सेवाका कार्यको सराहना गरे ।
कार्यक्रममा हास्य कलाकार श्रीकृष्ण सिंखडा, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा लगायतका वक्ताले पुस्तक गुणस्तरीय र सबैलाई मार्गदर्शन गर्ने खालको रहेको बताए । सोही अवसरमा भारतबाट आएका नेपाली भाषा पनि जान्ने असमिया भाषी गायक लोहित गोगोईले नेपाल–भारत सम्बन्ध र विश्वबन्धुत्वको सन्देश समेटिएको कविता नेपाली भाषामै सुनाए । यसअघि यात्रीद्वयको गृहजिल्ला भोजपुरमा विमोचित कृति लेखकले ०७०÷७१ मा एकवर्षको भ्रमणको अनुभवमा आधारित रहेको र यसको मुल्य ३ सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया