उदयपुर, २१ मंसिर । उदयपुरमा यसवर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार गएको वर्ष ५३ हजार ४ सय ६२ मेट्रिक टन उत्पादन भएकामा यसवर्ष ५५ हजार ३ सय मेट्रिक टन उत्पादन भएको हो ।
गतवर्ष भन्दा धानखेती पनि बढी गरिएको कृषि कार्यालयका बागबानी विकास अधिकृत रामकुमार यावदले बताए । आव ०७२ र ७३ मा १४ हजार ९९ हेक्टर जमिनमा धान खेति गरिएको थियो भने चालु आव ०७३ र ०७४ मा १४ हजार ७ सय हेक्टरमा गरिएको छ ।
‘सममै पानी परेकाले यसवर्ष जमिन बाँझो बसेन’ उनले भने ‘गएको वर्ष समयमै पानी परेन साथै नाकाबन्दीको कारण मल बीउको अभाव भएकाले उत्पादन घटेको थियो ।’ खाद्यान्नको मुख्य बाली मानिने धान जिल्लामा चैते, भदैया र वर्षे गरी ३ प्रकारका धान खेती गरिन्छ । धानखेती गर्न भित्री मधेस र पहाडी क्षेत्रका कयौँ टारी खेतमा सिञ्चाइँको सुविधा अपुग भएकाले समस्या छ ।
आउने दिनमा धान खेतीलाई आधुनिकीकरण गर्दै गए उत्पादन बढ्ने यादवको भनाइ छ । भित्री मधेसमा पर्ने कटारी, गाईघाट, नेपालटार, जोगिदह, वेल्टार, रामुपुर, तपेश्वरीका क्षेत्र छन् भने पहाडी क्षेत्रमा हर्देनी, मायँखु, सोरुङ, रूपाटारलगायत पर्छन् । कृषि क्षेत्रको आधुनिकीकरण बढेसँगै धान काट्ने मेसिन (थ्रेसर) धान रोप्नेलगायत आधुनिक मेसिन भित्रिन थालिसकेको छ ।
प्रतिक्रिया