बाँके, २० मंसिर । शीतलहरको कारण नेपालगञ्जबाट हुने सम्पूर्ण हवाई उडान रद्ध भएका छन् । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रिता महतोका अनुसार साना र ठूला हवाईजहाजका लागि प्रयाप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो ।
नेपालगञ्जमा आइतबार बिहानदेखि हवाई उडानका लागि प्रयाप्त भिजिविलिटी नभएको कारण दिनभर हवाई उडान नभएको उनले बताइन् । उनका अनुसार नेपागञ्जमा आइतबार दिनभर ६ सयदेखि ७ सयसम्म मात्र भिजिविलिटी रहेको छ । सानो जहाज उडानका लागि १ हजार ६ सयदेखि २ हजारसम्म र ठूला जहाजका लागि २ हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ ।
आइतबार नेपालगञ्जको न्यूनतम तापक्रम १३ दशमलव ६ रहेको छ भने साँझसम्म आकाश खुलेको थिएन । ‘दिउँसो १ बजेपछि आकाश खुल्ने सम्भावना रहँदैन, यो क्रम केही दिनसम्म रहने सम्भावना छ,’ उनले भनिन् । चिसो बढेसँगै नेपालगञ्जको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जलगायत सहरमा किनमेल र हिँडडुल गर्ने सर्वसाधारणको संख्यासमेत पातलिएको छ ।
प्रतिक्रिया