पैसाको अभावले अकालमा ज्यान गुमाउँछन् महिला

जाजरकोट, १४ मंसिर । पेटकी बिरामी सक्ला– १ की कमला खत्रीको उपचारको लागि स्वास्थ्य संस्था नगएकै कारण १ वर्षअघि मृत्यु भयो ।

घर नजिकै स्वास्थ्य संस्था भए पनि गरिबीका कारण परिवारले उपचारका लागि लैजान सकेन । पेटमा तेल लगाएर सेक्नेबाहेक अरू केही पनि खत्रीले उपचार पाइनन् । निरन्तरको २ वर्षको पेट दुखाइपछि उनको पानी घट्टमा मकैको पिठो सिस्न जाँदा बाटैमा मृत्यु भएको स्थानीयबासी बताउँछन् ।

त्यस्तै सक्ला–६ लुहागकी धनमाया बोहराको पेट दुख्ने समस्याकै कारण ३३ वर्षकै उमेरमा मृत्यु भयो । लगातारको ३ वर्षसम्म पेट दुख्ने गर्दथ्यो । पेट दुखेपछि उपचारमा लैजान धनमायाको परिवारले रकम जुटाउन सकेन । आर्थिक अभावकै कारण ७ कात्तिकमा घाँस काट्नका लागि वन गएको वेला धनमायाको मृत्यु भएको थियो । मृत्युको १ दिनपछि मात्र आफूहरूले खोज्दै जाँदा फेला पारेको पति टेकबहादुर बोहराले बताए । उनले भने, ‘पेट दुख्ने समस्या भएको ३ वर्ष भएको थियो, स्याउला जाँदा अमिलोको चुक खाएर गएकी थिइन् ।’

अस्पताल लैजान पैसाको जोहो गर्न १ रोपनी जग्गा बिक्री गर्ने तयारी हुँदै गर्दा पत्नीको मृत्यु हुन पुगेको भावुक हुँदै उनले बताए । खत्री र बोहरा त प्रतिनिधि मात्र हुन् । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका महिलाहरू आर्थिक अभावकै कारण अस्पताल जान सक्दैनन् ।

‘गाउँ घरका स्वास्थ्य संस्थामा जचाउँदा सामान्य सिटामोलबाहेक अरू पाइँदैन । रोग नै के लागेको हो भन्नेसम्म थाहा नपाई ग्रामीण क्षेत्रका महिलाहरूको अकालमा मृत्यु हुने गरेको छ’, नीलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताए ।

सडक सञ्जालले नछोएका कारण यहाँका गाउँ, घरमा डोकोमा बोकेर बिरामीहरू स्वास्थ्य संस्था लैजानुपर्ने वाध्यता छ । डोकोमा बोक्नका लागि कम्तीमा ३ जना सहयोगी चाहिने र अप्ठ्यारो बाटोमा सहजै उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्था ल्याउन पनि मुस्किल भएको स्थानीय शिक्षकहरू बताउँछन् । ग्रामीण क्षेत्रमा सबैभन्दा बढी ग्यास्टिक, पाठेघर खस्ने र टिबीका कारण ज्यान जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया