खुला आकाशमुनि पढ्न बाध्य महोत्तरीका विद्यार्थी

महोत्तरी, १० मंसिर । महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । जिल्लाको विकट एवं भारतीय सीमावर्ती क्षेत्रमा ०१० सालमा स्थापित यस विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यार्थी खुला आकासमुनि अध्ययन गर्न वाध्य भएका हुन् ।

दलित मुसहर र मुस्लिम समुदायका २ सय २२ विद्यार्थी अध्ययनरत सो विद्यालयको अवस्था दयनीय हुँदासमेत जिल्ला शिक्षा कार्यालयको नजर पर्न सकेको छैन । जिल्लामा तीव्र गतिमा खुला दिसामुक्त अभियान जारी रहेको समयमा सो विद्यालयको शौचालय भने जीर्ण छ । प्रांगणमा रहेको खानेपानीको पम्पसमेत बिग्रिएको छ । पानी पर्दा र चिसो अत्यधिक रूपमा बढेर बस्न असहज रहेको अवस्थामा पनि आफूहरूले पढाइलाई निरन्तरता दिँदै आएको कक्षा ५ मा अध्ययनरत छात्र धनोजकुमार राउतको भनाइ छ ।

स्कुलको समयमा विद्यार्थी खानेपानीका लागि गाउँमा भौतारिनुपर्छ भने चर्पी पुरानो भएका कारण दिसापिसाबका लागि समस्या भएको कक्षा ५ मा अध्ययनरत अर्की छात्रा आशा कुमारीले बताइन् । विद्यालयमा ४ शिक्षकको दरबन्दी रहेकोमा २ जना मात्र कार्यरत छन् अन्य २ जना अन्यत्रै काजमा खटिएको प्रधानाध्यापक तीर्थनाथ झाले बताए । विद्यालयको २ वटा ब्लकमा पर्खाल मात्र छ, तर छाना र ढोका भने छैन । अर्को १ ब्लकमा छाप्रो छ तर पर्खाल भने छैन । बाल विकासको एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने अर्को कोठालाई भण्डार कक्ष बनाइएको छ ।

प्रतिक्रिया