नवलपुर प्रदेश नं ४ मा हुनुपर्ने

कावासोती, २१ कात्तिक । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नं ४ का संयोजक किरण गुरुङले सहमतिका आधारमा पहिलो संविधानसभामाजस्तो यसपटक संसद्को समय नलिम्बने भएकाले १५ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमाले प्रदेश नं ४ को बैठकका लागि नवलपुर, अमलटारीमा आएका उनले प्रेस चौतारी नेपाल नवलपरासीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान कार्यान्वयन नहँुदा यो व्यवस्था नै ‘कोल्याप्स’ हुने खतरा भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

उनले नवलपुर प्रदेश नंं ४ को अभिन्न अंग भएकाले यो सो प्रदेशबाट अलग हुन नसक्ने बताए । संविधान जारी हुँदा नवलपरासी प्रदेश नं ४ र ५ मा विभाजित भएको थियो । प्रदेश नंं ४ मा परेको नवलपुर क्षेत्रमा ३ निर्वाचन क्षेत्र र पर्यटकीयस्थल त्रिवेणीधामसहित उत्तरी छिमेकी भारतसँग जोडिएकाले यो महत्वपूर्ण भएको उनको भनाइ छ ।

यसैबीच एमाले प्रदेश नं ४ को बैठक सोमबार बिहानदेखि सुरु भएको छ । नवलपरासी जिल्ला २ प्रदेशमा विभाजन भएपछि एमालेले नवलपुर क्षेत्रमा पहिलो पटक प्रदेश नं ४ को बैठक गरेको हो । नवलपुर क्षेत्र प्रदेश नं ४ को नाका र अभिन्न अंग भएकाले एमाले संविधान कार्यान्वयनको सन्देश दिन बैठक थारु होम स्टे गाउँ अमलटारीमा बसेको एमाले केन्द्रीय सदस्य तिलक महतले जानकारी दिए ।

बैठकमा संविधानले तोकेको ४ नं प्रदेशको सिमांकन नबिगार्ने गरी काम थाल्न राजनीतिक दललाई सचेत बनाउने विषयमा छलफल भएको पर्वत जिल्लाका अध्यक्ष पदम गिरीले बताए ।

बैठकमा ११ जिल्लाका जिल्ला अध्यक्ष, पूर्वराष्ट्रिय प्रतिनिधि परिषद, स्थायी कमिटी, केन्द्रीय र पोलिटब्युरो सदस्य सहभागी छन् । २ दिनसम्म चल्ने बैठकमा संविधान कार्यान्वयनको एमालेको चारमहिने अभियान, पार्टी संगठन, संविधान कार्यान्वयन, स्थानीय तहको संख्या निर्धारण र चुनावका सन्दर्भमा छलफल हुने एमाले प्रदेश नं ४ ले जनाएको छ । बैठकमा प्रदेश कमिटीका ६० र अन्य गरी करिब १ सय ५० जना सहभागी छन् ।

यसैबीच, दुई दिनसम्म बसेको सर्वदलीय बैठकले पाल्पामा २ नगरपालिका र ८ गाउँपालिका निर्धारण गरेको छ । स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेयका पहलमा २ दिनसम्मको बैठकअन्तर्गत शनिबार भएको छलफलले तानसेन गरपालिकामा बरांगदी– २, ३, ४, ५ र ६ एवं अर्घलीका सबै वडा जोड्ने सहमति भएको हो ।

त्यसैगरी ताहु क्षेत्रका लागि प्रस्तावित नगरपालिकालाई विभाजन गरेर दुई गाउँपालिका बनाउने निर्णय भएको छ, जसमा हुँगी, फोक्सींकोट, ताहु, पिपलडाँडा, हुमिन र हेक्लाङ गाविस–९ लाई मिलाएर १ गाउँपालिका तथा सिलुवा, रिङगनेरह, जल्पा, वीरकोट, देवीनगर र हेक्लाङ– १ देखि ८ सम्म गरी अर्को गाउँपालिका बनाउन सिफारिस गर्ने निर्णय भएको छ ।

बैठक आइतबार पुनः बसेर केन्द्र र नामका विषयमा टुंगो लगाउने निर्णय भएको जिविस पाल्पाका योजना तथा प्रशासकीय अधिकृत चूरामणि बस्यालले बताए ।

प्रतिक्रिया