दुईपटक जन्म

bachha-copyटेक्सास, १० कात्तिक । आधुनिक चिकित्सकीय विकासले असम्भवलाई सम्भव तुल्याएको छ । तपाईं कल्पना गर्नुहोस् गर्भमा रहेको शिशु २० मिनेटका लागि बाहिर निकाल्दा बाच्ला ? तर, एक बालिका बाँचेकी छिन् । चिकित्सकले गर्भबाट निकालेको २० मिनेटको अवधिमा बालिकाको मेरुदण्डमा देखिएको ट्युमर शल्यक्रिया गरेर पुनः बालिकालाई गर्भमा राखेका थिए ।

चिकित्सकले उक्त ट्युमरले मुटुमा असर गर्ने बताएपछि पाठेघरबाट निकालेर उनको जटिल शल्यक्रिया गरेर ट्युमर फालेका हुन् । ट्युमर फालिएपछि भने उनलाई पुनः गर्भमै राखियो ।

यति जटिल उपचार पद्धतिबाट सफल उपचार गराइएकी एक बालिका स्वस्थ्य रूपमा जन्मिएकी छन् । यो घटना अमेरिकाको टेक्सासको हो । टेक्सासकी मार्गरेट हकिन्स बोमरकी छोरी लिनली होप यसरी दुईपटक जन्मिएकी हुन् । समाचारमा उल्लेख भएअनुसार अल्ट्रासाउन्ड गर्दा १६ हप्ता गर्भमा रहेकी बालिकाको मेरुदण्डमा ट्युमर भएको पत्ता लागेको थियो । उनको शल्यक्रिया भने २३औँ हप्तामा भयो । यसरी एकपटक उपचारका लागि जन्मिएकी लिनली दोस्रोपटक साच्चिकै जन्मिएकी हुन् ।

अमेरिकाको टेक्सास फेटल सेन्टरका चिकित्सकले ठूलो जोखिम मोलेर बालिकालाई बचाएको त्यहाँको सञ्चार माध्यमले उल्लेख गरेको छ । शल्यक्रियाका क्रममा चिकित्सकले लिनलीको मुटुलाई रोकेको तर, विशेषज्ञले विशेष प्रविधिबाट जीवितै राखेको शल्यक्रियामा संलग्न डा.डार्रेल कासले बताएका छन् ।

शल्यक्रियामा संलग्न चिकित्सक डा. कास भन्छन्, ‘यो समस्या समान्य हो तर एकदमै थोरै बच्चामा मात्र देखिन्छ ।’ चिकित्सकका अनुसार ट्युमर बढ्दै जाँदा बच्चाको शरीरबाट रगत लिन्छ र बच्चा पनि त्यही अनुसार बढ्दै जानेहुँदा बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्छ । चिकित्सकले यस्तो समस्या ३५ हजारमा १ जनामा मात्र हुने बताएका छन् ।

शल्यक्रियापछि लिनलीकी आमा १२ हप्तासम्म पूर्ण बेडरेस्टमा बस्नुपरेको थियो । यसरी कठिन उपचार पद्धतिबाट गर्भमै बाँचेकी लिनली गत जुन ६ मा जन्मिएकी हुन् । शल्यक्रियअघि चिकित्सकले उनी जीवितै रहने सम्भावना ५० प्रतिशत मात्र भएको बताएका थिए । लिनलीको जीवन जोगाउनका निम्ति जोखिम मोलेर शल्यक्रिया गरेको आमा मार्गरेटलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चिकित्सकले गर्भबाट बचाएर पुनर्जीवन दिएकी लिनली जन्मिएको पुनः ८ दिन नपुग्दै उनको मेरुदण्डमा रहेको बाँकी ट्युमर शल्यक्रियाबाट हटाइएको छ । समाचारमा उल्लेख गरे अनुसार लिनली अहिले स्वास्थ्य छिन् ।

प्रतिक्रिया