बारा, ८ कात्तिक । एमाले बाराको जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष निर्वाचित भएका छन् । सोमबार विहान सार्वजनिक नतिजा अनुसार प्रतिस्पर्धी रविन्द्रदास श्रेष्ठलाइ ६५ मतले पछि पार्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
अघिल्लो महिना उद्घाटन भएर अधिवेशन स्थगित भएको थियो । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा विश्वकर्माले २ सय ३३ र श्रेष्ठले १ सय ५८ मत प्राप्त गरेका थिए । देशभरिमै एमालेको जिल्ला अध्यक्ष निर्वाचित हुने विश्वकर्मा एक मात्र दलित नेता हुन् ।
पार्टीको केन्द्रीय कमिटीले प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय गरे पनि जिल्ला स्तरमा टिम बनाएर चुनाव लड्ने क्रम रोकिएको छैन । विश्वकर्मा वरिष्ठ नेता माधव नेपाल र श्रेष्ठ अध्यक्ष केपी ओली पक्षधरका रूपमा खडा भएका थिए । अन्य पदमा पनि विश्वकर्माकै टिमका नेताहरूले जितेका छन् त्यस्तै उपाध्यक्षमा देवनारायण चौधरी, सचिवमा महम्मद समीउल्लाह विजयी भएका छन् ।
७१ सदस्यीय नवनिर्वाचित जिल्ला कमिटीलाई दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले बधाई तथा प्रमाणपत्र ज्ञापन गरेका थिए । दुई नम्बर प्रदेशमा सम्पन्न भएको एमालेको यो पहिलो जिल्ला अधिवेशन हो । बारामा लामो समयदेखि पार्टी अध्यक्ष ओली पक्षधरको पकड रहँदै आएको थियो । हाल निर्वाचित कमिटी पदाधिकारी र सदस्य वरिष्ठ नेता नेपालपक्षको बाहुल्यता छ ।
प्रतिक्रिया