पुस्तकालयको लागि ‘एक व्यक्ति एक हजार’ अभियान

बाग्लुङ, १९ असोज । धवलागिरि अञ्चलकै जेठो पुस्तकालयले आफ्नो संस्थागत विकासका लागि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको छ । २००३ सालमा स्थापित पुस्तकालयले अभियान सुरु भएको १ हप्तामा ३५ हजार रूपैयाँ संकलन गरेको छ ।

अभियानमा १० लाख रूपैयाँको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । प्रविधिको विकास र पाठकको मागलाई दृष्टिगत गरी पुस्तकालयले गत वैशाखदेखि विद्युतीय पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । राणाकालीन सो पुस्तकालय धवलागिरि क्षेत्रकै शैक्षिक, सामाजिक विकासको अग्रणी संस्थाका रूपमा मानिन्छ ।

‘इतिहास बोकेको पुस्तकालय आर्थिक समस्यामा पर्न थालेपछि आर्थिक अभियान सुरु गरेका हौँ’, राजभण्डारीले भने, ‘प्रतिव्यक्ति हजार रूपैयाँ सहयोग उठाउने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार कतिपय व्यक्तिले स्वेच्छाले १ हजार रूपैयाँभन्दा पनि बढी सहयोग गरिरहेका छन् । पुस्तकालयप्रेमीबाट स्वतःस्फूर्त रूपमा सहयोग जुट्ने क्रम जारीरहेको राजभण्डारीले बताए ।

प्रतिक्रिया