नेप्सेमा ३६ अंकको गिरावट

काठमाडौं, १० असोज । साताको पहिलो दिन सेयर बजारका सबै सूचक तथा उपसमूह ठूलो अंकमा ओर्लिएका छन् । नेप्से परिसूचक ३६ अंकले ओर्लिएर १७ सय ३० अंकमा कायम भएको छ ।

बजार बन्द हुनुभन्दा २० मिनेटअगाडिसम्म १७ सय २५ अंकमा झरेको नेप्से त्यसपछि केही सम्हालिएको हो । यस दिन क वर्गका कम्पनीको सूचक ७ दशमलव ७ अंकले झरेको छ ।

बजार राताम्मे भए पनि कारोबार सन्तोषजनक देखिएको छ । १ सय ३७ कम्पनीको १ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भयो ।

दसैँ नजिकिनु र बैंकको पहिलो त्रैमासिक अवधिको व्याज तथा किस्ता बुझाउने समय पनि भएकाले बजार घटेको अनुमान छ । त्यसबाहेक बैंकमा पछिल्लो समय ब्याजदर बढ्दै जानु र पुँजी अन्यन्त्र परिचालन हुन थालेकाले पनि बजार घटेको सम्बद्ध विज्ञहरु बताउँछन् ।

यस दिन बिमा तेहोरो र सबै समूहहरु दोहोरो अंकमा झरेका छन् । बिमा २ सय ४७ अंकले झरेको छ । होटल ६२, जलविद्युत ५७, विकास बैंक ५५, उत्पादन ३९, वाणिज्य बैंक २८, फाइनान्स १४ र अन्य समूह १० अंकले झरेका छन् । यस दिन १० कम्पनीको सेयर मूल्य बढ्यो भने अरु सबैको घटेको छ ।

वाणिज्य बैंकहरुमा एभरेष्ट, लक्ष्मी, नेपाल बंगलादेश र स्टाण्डर्ड चार्टड बैंकको मूल्य बढेको हो । तीबाहेक ङादी जलविद्युत, एनबी इन्स्योरेन्स, सिद्धार्थ इक्विटी, रिलायबल माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त र जानकी फाइनान्सका लगानीकर्ताको सेयर मूल्य पनि बढेको छ ।

कारोबार रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो । उसको ११ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भयो । सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँले बढेर ३ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी बढाउन कम्पनीले ठूलो मात्रामा बोनस सेयर दिन लागेको हल्ला बजारमा चल्दा कम्पनीको सेयरमा आकर्षण बढेको हो । उसले पुँजी वृद्धिका लागि एफपिओलाई पनि आफ्नो योजनामा राखेको छ ।

त्यस्तै कृषि विकास बैंकको ११ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भयो । सो बैंकको हकप्रद सेयरको दावी गर्न आइतबारसम्म सेयर किनेको हुनुपर्ने भएपछि कारोबार बढेको हो । ५० प्रतिशत हकप्रद निश्कासन गर्न लागेको बैंकले सोमबार बुक क्लोजको मिति तय गरेको छ ।

कृषि विकास बैंकको कारोबार रकम बढे पनि सेयर मूल्य भने घटेर प्रतिकित्ता ९ सय ९५ मा कायम भएको छ । नेपाल बंगलादेश बैंकको ७ करोड रुपैयाँको सेयर कारोबार भयो । उसको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले बढेको छ ।

नाफाका आधारमा ङादी ग्रुप पावरका लगानीकर्ता अग्रस्थानमा रहे । सो कम्पनीको सेयर मूल्य ९. ८ प्रतिशतले बढेर ४ सय ३ रुपैयाँ कायम भएको छ । प्राथमिक निश्कासनपछि दोस्रो बजारमा हालै मात्र कम्पनीको सेयर कारोबार खुलेकाले सस्तो मूल्यमा सेयर उठाउन लगानीकर्ता लागिपरेका हुन् ।

हाल कारोबार भइरहेका अधिकांश जलविद्युत कम्पनीको मूल्य ङादीको भन्दा बढी छ । त्यस्तै एनबी इन्स्योरेन्सको ५ प्रतिशतले सेयर मूल्य बढेको छ ।  रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९ प्रतिशत मूल्य गुमाए ।

प्रतिक्रिया