फागुनमा ‘मिस नेसनल आइकन’ हुने

national-icon-copyसौर्य समाचार
काठमाडौं, ८ असोज । ब्राइट इन्टरटेनमेन्ट प्रालिले नेपाली कला, संस्कार, संस्कृति, भाषा, भेषभूषा आदिको प्रवद्र्धन गर्ने ‘मिस नेसनल आइकन २०१७’ को आयोजना गर्ने भएको छ । नयाँ प्रतिभाको खोजी गर्दै देश विदेशमा समेत उनीहरूको पहिचानलाई स्थापित गर्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक गणेश इशाराले जानकारी दिए ।

१६ वर्षदेखि २७ उमेर समूहका एसएलसी उत्तीर्ण अविवाहित महिला प्रतियोगितामा सामेल हुन पाउने प्रालिले जनाएको छ । विश्वभर छरिएर रहेका प्रतिभाशाली युवतीहरूले सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि पुस २९ गतेसम्म आवेदन फाराम बुझाउन पाइनेछ ।

आवेदन प्राप्तभएपछि २२ दिनको तालिम दिएर माघको पहिलो साता आवेदकहरूलाई छनौट प्रतियोगितामा सामेल गराइने र फागुनको अन्तिम साता फाइनल प्रतियोगितामार्फत मिस नेपाल आइकन छनोट गरिने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक धनीराम राईले जानकारी दिएका छन् ।

प्रतियोगिताको फाइनल राउन्डमा विजेतालाइ कार, फस्ट रनरअपलाई आकर्षक स्कुटी तथा सेकेन्ड रनरअपलाई ५० हजार नगदसहित अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । त्यसबाहेक विभिन्न २० विधामा छनोट भएका उत्कृष्ट प्रतियोगीहरूलाई आकर्षक पुरस्कार र विभिन्न अवसरहरू प्रदान गरिने निर्देशक राईले बताए ।

प्रतियोगितामा सहभागी हुन पोखरा, बुटवल, धनगढी, हेटौंडा, दमक, इलाम, धरान, र काठमाडौंबाट आवेदन भर्न सकिने कार्यक्रम संयोजक इसाराले जानकारी दिएका छन् ।

प्रतिक्रिया