काठमाडौं, ३ जेठ । पत्रकारिता शिक्षालाई अझै व्यावहारिक बनाउन पाठ्यक्रमलाई परिमार्जन गरी प्रयोगात्मकतामा केन्द्रित गर्न सञ्चार विज्ञले सुझाएका छन् ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा मिडिया एक्सन नेपाल र नेसनल इन्टरग्रेटेड कलेज (एनआइसी)ले संयुक्त रूपमा सोमबार आयोजना गरेको ‘नेपाली पत्रकारिता शिक्षाका चुनौती’ विषयक २ दिने गोष्ठीमा पछिल्लो पटक पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै गएको अवस्थामा पत्रकारिता शिक्षालाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने विज्ञले जोड दिएका हुन् ।
प्रा.लालदेउसा राईले पत्रकारिता विषयको पाठ्यक्रम सिंगो पत्रकारिता क्षेत्रलाई समेट्ने खालको हुुनुपर्ने बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले व्यावहारिक पाठ्यक्रम नभएका कारण पनि पत्रकारिता अध्ययन गर्ने नै त्यस क्षेत्रबाट पलायन हुनुपरेको बताए ।
सूचना विभागका महानिर्देशक रघुराम विष्ट र नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दुले पछिल्लो पटक गुणात्मकभन्दा पनि सञ्चारमाध्यमको संख्यात्मकरूपमा मात्र वृद्धि भएको धारणा राखिन । एनआइसी कलेजका अध्यक्ष भोजबहादुर शाह र निर्मलमणि अधिकारीले पत्रकारिता विषयलाई व्यावहारिक र आकर्षित बनाउनका लागि विश्वविद्यालयमा पढाउने शिक्षक पूर्णकालीन हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया