बुटवल, १४ वैशाख । बुटवलमा अवस्थित लुम्बिनी अञ्चल अस्पताल अञ्चलका ६ वटै जिल्लाका बिरामीहरू आउने गर्दछन् । अस्पताल प्रशासनका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले दिएको जानकारीअनुसार दैनिक ६ सयदेखि १२ सय बिरामी आउने गर्दछन् भने अस्पतालमा २७ जना डाक्टरको दरबन्दी रहेको छ । सरकारी डाक्टर भनेपछि दक्ष र अनुभवी हुन्छन् भन्ने कुरा आमनागरिकमा धारणा रहेको हुन्छ ।
सरकारी अस्पतालमा डाक्टरहरू राम्रा हुन्छन् भन्ने आमनागरिकको बुझाइएको फाइदा उठाउँदै झन्डै डेढ दर्जन डाक्टरले अञ्चल अस्पतालको नाम बेचेर निजी क्लिनिकलाई आम्दानीको स्रोत बनाउँदै आएका छन् । डाक्टरहरू क्लिनिकमा बस्नु सामान्य विषय हो तर अस्पतालभित्रको बिरामीलाई ‘फलानो क्लिनिकमा आउनु म त्यता पनि हेर्छु’ भनेर प्रचार गर्नु चाहिँ सोह्रै आना गलत हो । तर, बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालका डाक्टरहरूले यस्तै गरिहेका छन् । अञ्चल अस्पतालको ढिलासुस्ती र भिडभाड देखेपछि डाक्टरले भनेको निजी क्लिनिकतर्फ बिरामीहरू जाने गरेका छन् । सरकारी तलब खाने अनि सरकारी अस्पतालको नाम बेचेर फेरि बाहिरको क्लिनिकमा बसेर बिरामीको ढाड सेक्ने शुल्क असुल्ने डाक्टरहरूको शैलीलाई स्थानीयहरू ‘डाक्टर साबको लुट’ भन्छन् ।
आश्चर्यको कुरा त के छ भने वरिष्ठ डाक्टर श्रीधर आचार्य, बढुवा भएका पुष्पराज जोशी, विष्णु शर्मालगायत डाक्टरहरू र बढुवा तयारी अवस्थामा रहेका भूवन पौडेल, शकुन्तला गुप्तालगायत डाक्टरले पनि सरकारी नाम बेचिरहेका छन् ।
अञ्चल अस्पतालमा बिरामीले १० रूपैयाँमा टिकट काट्नुपर्छ भने उही डाक्टरले जाँच्ने क्लिनिकमा ४ देखि ५ सयसम्म तिर्नुपर्छ । बिरामीलाई ल्याबलगायत अन्य सेवाको लागि पनि उत्तिकै महँगो मूल्य तिर्नुपर्ने बाध्यतात्मक स्थिति छ । उही डाक्टरबाट १० रूपैयाँमा उपचार हुने भए पनि बाहिर डाक्टरहरूले राम्रो उपचार तथा परामर्श दिने गरेका छन् । यही कुरा सुनेर आफू अञ्चल अस्पतालको डाक्टर बस्ने क्लिनिकमा आएको १ बिमारीले बताए ।
यसरी डाक्टरहरूले अञ्चल अस्पताललाई चारो बनाएर निजी क्लिनिकमा बस्दा अस्पतालका डाक्टर बस्ने निजी क्लिनिकहरू खचाखच हुन थालेका छन् । ‘अञ्चल अस्पतालका बिमारीहरू बाहिर बोलाएर उपचार गराउँदै जाने हो भने भित्र त बेडरेस्ट गर्ने बिरामी मात्र हुन्छन् त्यसो भएपछि ठूलो लगानी गरेर सञ्चालनमा ल्याइएको अञ्चल अस्पतालको के महत्व,’ एक निजी क्लिनिकका सञ्चालक भन्छन्, ‘अस्पतालको नाम जोडेर सञ्चालन भएका क्लिनिकबाट डाक्टरहरूको नाम हटाउन अस्पताल प्रशासनले कदम चाल्नुपर्छ ।’
प्रतिक्रिया