होलिया मेला मय्जु मसिउला
अबिर भचासां छ्यनय तया हुँ
अबिरया होली तँचाया ला ल्यासे
अबिर भचा तयेका बिसिउँ वनाःला ।।
परापूर्वकालदेखि चल्दै आइरहेको नेवारीपनको होलीमा गाइने लोकगीत हो यो । यसरी गीत गाउँदै युवाहरूले युवतीहरूलाई अबीर लगाइदिँदै रमाइलो गर्दै होलीको मेला मनाउने गरिन्छ । यसरी गीत गाउँदै होलीको मेला भर्ने क्रममा युवायुवतीहरूबीच एकआपसमा मन पराउँदै प्रेम पनि गरिने नेवारहरूको संस्कार रहेको थियो । पहिलापहिला होलीको मेलामा युवाहरूले आफूले चिनेजानेका वा मन पराइराखेका युवतीहरूलाई आफ्नो प्रेम प्रदर्शन गर्ने र प्रस्ताव राख्ने गर्दथ्यो । आजकलका युवायुवतीहरूले ‘भ्यालेन्टाइन डे’ भनी मानेर प्रेम प्रस्ताव राखे जस्तै । पहिलापहिला उपत्यकाका नेवारहरूले मान्ने विभिन्न चाडवाड र जात्रा पर्वमा प्रेम गर्ने गरिन्थ्यो । अहिले जस्तो आफूले मन लागेको ठाउँमा युवायुवती भेटघाट गर्ने अवसर मिल्दैनथ्यो । त्यसैले चाडपर्वमा देवता पूजा गर्न जाने युवतीहरू र देवता दर्शन गर्न जाने युवाहरूबीच प्रेम हुने गरिन्थ्यो । त्यस्तै देवीदेवताका जात्रा हेर्न जाने युवायुवतीहरूबीच पनि प्रेम हुने गर्छ । होली पर्व मनाउने क्रममा त अझ विशेष गरी युवायुवतीहरूले आफूले मन पराएकाहरूसँग अबिर लगाइदिएर प्रेम प्रदर्शन गर्छन् । तर, अहिले आएर होलीको नाममा देखापरेका विभिन्न किसिमका विकृतिले गर्दा होली जस्तो पवित्र पर्वको नामै बदनाम भइरहेको देखिन्छ । वसन्त ऋतुको आगमनको समय पारेर आपसी मेलमिलाप र सद्भावनाको भाव बोकेर आउने होली पर्व मनाउने क्रममा कुनै पनि किसिमका विकृति आउन दिनुहुँदैन । यसतर्फ सबैले ध्यान दिनुपर्छ ।
हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली पर्व मनाइन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा बिहान शुभसाइत पारेर तीन तल्ले चीर ठड्याएर होली पर्व सुरु गरिन्छ । परम्परागत रूपमा रंगीचंगी कपडाका टुक्रा झल्लर झुन्डाएर टुप्पोमा मयल रुखका हाँगाबिंगा भएको चीर ठड्याएर गुरूजुको पल्टनले तोप पड्काएर हर्ष बढाई गरी अबिर छरेर होली पर्व सुरु गरिन्छ । उक्त समयमा गुठियार सूर्यमान महर्जनले पछिमा बाजा बजाएर महादेवको स्तुति पनि गर्छन् । काठमाडौंका धालासिक्वका साय्मीहरूले चीर ठड्याउने गर्छन् । यही शुभ साइतमा हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रंगीचंगी कपडाका टुक्राएर झुन्ड्याइराखेका मयल रुखका हाँगाबिंगा भुइँमा गाडेर पूजा गर्ने गरिन्छ । मोहनकाली चोकमा काठले बनाइराखेको हातमा मुरली समाइरहेका श्रीकृष्णको मूर्ति र ९ वटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गरिन्छ ।
हरेक वर्ष ऋतुराज वसन्तको आगमनलाई नेपालीहरूले फागु शुक्ल अष्टमीका दिनदेखि पूर्णिमासम्म मैत्री र सद्भावको रूपमा आपूm आपूmमै रङ र अबिर छर्केर होली खेलेर स्वागत गर्ने गरिन्छ । पूर्णिमाका दिन राती चीर ढालेर तानेर टँुडिखेलमा लगी चीर दहन गरिन्छ । तराईतिर भने पूर्णिमाको भोलिपल्ट मात्र होली खेल्ने परम्परा छ । संस्कृतिविद्हरूको भनाइअनुसार यो होलीपर्व पूर्व–मध्यकालदेखि मनाइँदै आएको हो । नेपालीहरूको आपसी मैत्रीपूर्ण र सद्भावको रूपमा एकआपसमा रङ, अबिर राखी होली खेल्ने क्रममा भाङ खाइ नाचेर वसन्तको गीत गाउँदै रमाइलोसँग मनोरञ्जन गर्छन् । नेपालभर विभिन्न स्थानमा हिमाल, पहाड र तराईमा आ–आफ्ना संस्कृति र पौराणिक मान्यताअनुसार होली पर्व मनाउँछन् ।
काठमाडौं उपत्यकामा मान्दै आइरहेको होलीको महत्व र मान्यता पौराणिक भनाइ अनुरूपका प्रसंगहरू सुन्न पाइन्छ । ठमेलका व्यापारी सिंहसार्थ बाहु ७ सय जना व्यापारी साथीसँगै ल्हासामा व्यापार गरी फर्कंदै गर्दा ब्रम्हपुत्र नदीमा सुन्दरी युवतीका भेषमा आई राक्षसनीहरूले आफ्नो जालमा पारी सबैलाई आफ्नो आहारा बनाए पनि सिंहसार्थ बाहु एक जना मात्र बाँचेर भागी आउन सकेको खुसीयालीमा वसन्तपुरमा चीर ठड्याएर ८ दिनसम्म सिन्दुर जात्रा गरी अबिर रङ छ्यापेर एक आपसमा अबिर, रङ लगाइदिएर होली पर्व मानेको हो भनिन्छ । उही सिंहसार्थ बाहुको प्रतिकको रूपमा चकंद्यः बनाई जात्रा गर्ने चलन अहिलेसम्म चलिरहेको छ ।
त्यस्तै चीर दहन गरिसकेपछि ६ मुरी चामलको भात पकाएर टुँडिखेलमा गुरुमापा राक्षसलाई खुवाउन लाने प्रसंग पनि छ । काठमाडौंका बालबालिकाहरूलाई गुरुमापाले चोरेर लगी खाने गरेकोले बालबालिकाका आमाबुबाहरूले इतुंबहालका केशचन्द्र कहाँ गई भन्न जाँदा केशचन्द्रको आदेशबमोजिम गुरुमापालाई समातेर ल्याई आइन्दा बच्चाहरूको रक्षा गर्नुपर्ने र टुँडिखेलमै बस्नुपर्ने बाचा कबोल गराई त्यसको सट्टा गुरुमापालाई वर्षको एकपटक होली पूर्णिमाका दिन ६ मुरी चामलको भात र एउटा राँगोको मासुका साथै जाँडरक्सी पनि खुवाउने चलन बनाएको हो भनिन्छ । यो चलन हालसम्म पनि चलिरहेको छ । यसका लागि एउटा गुठी नै छ । गुठियारहरू सबै टुँडिखेलमा गई गुरुमापालाई भात चढाइसकेपछि त्यही भोज खाइ फर्की आउँछन् । होली पूर्णिमाकै दिन भक्तपुरमा राधा र कृष्णकाबीच रङ छ्यापेर होली खेलेको स्मरण गर्दै चाँगुनारायण वंश गोपालको खट जात्रा तान्त्रिक विधिबाट पूजापाठ गरी राधाकृष्ण, रुक्मिणीका सुन्दर मूर्तिसहित नगर परिक्रमा गराइ जात्रा मनाइन्छ ।
नेपालका तराई क्षेत्र र भारतका विभिन्न स्थानमा भने सत्ययुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हाद विष्णुभक्त भएकाले धेरैपटक मार्ने प्रयास गर्दा पनि असफल भएकोले ब्रम्हाबाट आगोले दहन नहुने वरदान पाएकी आफ्नै बहिनी होलिका अह्राएबमोजिम होलिकाले प्रल्हादलाई काखमा राखी बलिरहेको आगोमा बसेर जलाइदिने प्रयास गर्छिन् । तर, देवताको वरदानको दुरुपयोग गरेकीले होलिका नै आगोमा जलेर मर्छिन् । तर, भक्त प्रल्हादलाई भने केही पनि हुँदैन । यसरी सत्यको अगाडि असत्य हारेको र सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया