साँढे ४ अर्बको धानखेत बाँझै

mainकाठमाडौं, २५ मंसिर । यसपटक समयमा पानी नपर्दा र विभिन्न कारणले साँढे ४ अर्बको धानखेत बाँभैm बसेको छ ।

धानखेती हुने जमिन क्रमशः बाँझिँदै गएको छ । यस बर्ष ६१ हजार हेक्टर धानखेत हुुने जमिन बाँझो भयो । झन्डै एक रोपनी जमिनमा सरदर १ सय ५० किलो धान उत्पादन हुन्छ । यसरी गणना गर्दा कूूल बाँझो जमिन १२ लाख २० हजार रोपनीमा १८ करोड ३० लाख किलो धान अर्थात अहिलेको प्रचलित बजार मूल्य प्रतिकिलो २५रूपैयाँका दरले ४ अर्ब ५७ करोड ५० लाखको धान उत्पादन हुने खेत बाँझै बसेको छ ।

नेपालीले दुबैछाक भात खाने बानीमा परिवर्तन नल्याउने हो भने मुलुकमा यस वर्ष चामल आयात दोब्बरले वृद्धि हुने भएको छ । गत बर्ष नेपालले भारतबाट करिब २३ अर्बको चामल आयात गरेको थियो । प्रमुख दोस्रो खाद्यन्न बाली गहुँको उत्पादन गतवर्ष करिब १७ लाख मेट्रिक टन भएकोमा खपत झन्डै ९ लाख मेट्रिक टन भई ८ लाख मेट्रिक टन गहुँ बचत हुन थियो ।

गत बर्ष नेपालले ५ अर्ब ७६ करोड रूपैयाँको मकै कुखुराको दाना बनाउन भारतबाट आयात गरेको थियो । दैनिक खाद्य प्रयोजनका लागि मकै आयात गर्नु पर्दैन । मीठो खाने बानी र पकाउन सजिलो भएकाले आम नेपाली, मकै र गहुँको परिकार रुचाउँदैनन् । ‘दुवै छाक भात खानु स्वास्थ्यका लागि हितकारी छैन’ डा. भूषण श्रेष्ठले भने ।

कम्तीमा दिनमा एकछाक मकैको ढिँडो, गहुँ, फापर तथा जौको रोटी खानेलाई मधुमेहको रोग नलाग्ने डा. श्रेष्ठको दाबी छ । गहुँको रोटी, मकैको ढिँडो खाने बानीमा ह्रास आएकाले चामल आयातमा क्रमशः वृद्धि हुँदै गएको कृषि विकास मन्त्रालयका सह–सचिव सुरज पोखरेलले बताए ।

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत मध्ये धानको मात्र २१ प्रतिशत योगदान छ । धान नेपालको प्रमुख खाद्यन्नबाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैते धान, बर्षे धान र घैया धानखेती हुँदै आएको छ ।

भोजनका बानीमा परिवर्तन ल्याउनुपर्छ तर, धानको उत्पादनमा गिरावट आउनु दुर्भाग्यपूर्ण भएको वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतले बताए । वि.सं.२०३५ सम्म धान, चामल, निर्यात गर्न यहाँ ७÷८ वटा धान चामल कम्पनीको स्थापना गरिएको थियो । तर, ३७ वर्ष पछि नेपाल धान चामल आयात गर्ने देशमा गणना भएको छ ।

हालै कृषि विकास मन्त्रालयले बालीनालीको स्थितिलाई दुर्भाग्यपूर्ण भनेको छ । सो मन्त्रालयले कृषि विकास विभाग, क्षेत्रीय कृषि विकास निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, विश्वखाध्य कार्यक्रम, विश्वखाद्य संगठन इसिमोड, सिमिट र इरी लगायतका संस्थाबाट प्राप्त तथ्यांकलाईसमेत आधार मानी धान उत्पादकत्व वृद्धिलाई दुर्भाग्यपूर्ण भनेको हो ।

गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादनमा १० प्रतिशत अर्थात करिब चार लाख ९० हजार मेट्रिक टनले घट्नगई यसवर्ष ४२ लाख ९९ हजार मेट्रिक टनमा सीमित हुन गयो । गतवर्ष धानको उत्पादन ४७ लाख ८८ हजार मेट्रिक टन थियो । कृषि विकास मन्त्रालयका सहसचिव डा. सुरज पोखरेलका अनुसार धानको उत्पादनमा ह्रास आउनुको मूख्य कारणमा समयमा रोपाइँ नुहुनु र रासायनिक मलको ढुवानी हुन नसक्नु हो ।

कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर ३ हजार किलो छ । गत वर्ष भन्दा यस वर्ष जमिन बाँझो राख्ने प्रचलनमा कमी आएको छ । गत वर्ष धान उत्पादन हुने ६५ हजार हेक्टर जमिन बाँझो थियो । राष्ट्रिय कृषि गणना २०६८ मा १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको तथा एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ ।

प्रतिक्रिया