काठमाडौं, ११ मंसिर । धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गरिएको प्रति राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । त्यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि विगत केही समयदेखि त्यस्ता कार्यक्रमहरूमा बालबालिकाको प्रयोग बढ्दै गएको प्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षण संस्थाहरुको छाता संगठनहरूले शुक्रबार राजधानीमा गरेको मानवसाङ्लोमा कक्षा ८ मा अध्ययनरत बालबालिकाको प्रयोग गरिएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । बन्द, हड्तालका कार्यक्रममा बालबालिकाको निरन्तर प्रयोग गर्दा हुने जोखिमलाई ध्यानमा राखी बालअधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।
निर्वाध रूपमा विद्यालय जान पाउने र भय मुक्त वातावरणमा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकोले कुनै पनि संस्था वा राजनीतिक दलले आयोजना गर्ने कुनै पनि कार्यक्रममा बालबालिकाहरूको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ । बन्द, हड्ताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु बालअधिकार सम्बन्धी महासन्धी तथा ‘बालबालिकासम्बन्धी ऐन, २०४८’ विपरीत रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया