मनाङ र पुलिस सेमिफाइनलमा भिड्ने


काठमाडौ,१४ वैशाख । अनिल गुरुङको निर्णायक गोलमा फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै दुईपटकको उपविजेता लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङदी क्लब चालु ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रोपटक फाइनल प्रवेशको अभियानमा रहेको मनाङले फाइनल प्रवेशका लागि चिरपरिचित नेपाल पुलिस क्लबको सामना गर्नेछ । दोस्रो हाफमा अनिलले गोल गर्नुअघि मनाङले चारपटकभन्दा बढी खुला गोलको अवसर गुमाएको थियो । ४९आंै मिनेटमा सुजल श्रेष्ठको कर्नरमा मेबाइल स्टेफाइनले फ्लिक गरेपछि अनिलले गोल गरे ।
अन्तिम क्वार्टरफाइनलसम्म खेल्दा पनि कुनै टोलीले लोभलाग्दो खेल खेल्न भने सकेनन् । पछिल्लो सत्रमा आधा दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी अनुबन्ध गरे पनि अपेक्षाकृत सफलता पाउन नसकेको मनाङलाई यसपटक सेमिफाइनलसम्म प्रवेश गराउने क्रममा कप्तान शिव श्रेष्ठले भने अलि पृथक प्रदर्शन गरे । फ्रेन्ड्सको हकमा संगम युवा क्लबलाई राष्ट्रिय लिगको अन्तिम चरणमा प्रवेश गराएपछि ‘ए’ डिभिजन क्लबको बाटो खुला बनाएका प्रकाश बुढाथोकीले राम्रो प्रदर्शन गरे ।
पहिलो हाफ सकिन पाँच मिनेट मात्र बाँकी रहँदा राम थापाको पासमा अनिलले नभेटे पनि अमीर श्रेष्ठले भेटेका थिए तर समीर विष्टले राम्रो क्लियर गरेपछि फ्रेन्ड्सको संकट टरेको थियो । ३८आंै मिनेटमा अमीर श्रेष्ठले परफेक्ट क्रस गरे पनि त्यो क्रसलाई फ्रेन्ड्सका गोलरक्षक लक्की कार्कीले मुस्किलले बचाए । ६६औं मिनेटमा भने मनाङले असाध्यै राम्रो मौका गुमायो । भेट्रान विंगर नवीन न्यौपानेको क्रसमा अनिल गुरुङले नजिकैको दूरीमा राम्रो बल भेटे पनि त्यसलाई उपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । ७३औं मिनेटमा सुलभ मास्केले पनि ‘वानभर्सेस वान’ को मौका गुमाए । ७६औं मिनेटमा सुलभको राम्रो थ्रु पासलाई उपयोग गर्न पनि अनिल असफल रहे । अनिल खेलका ‘म्यान अफ द म्याच’ घोषित भए ।
सेमिफाइनल फ्लडलाइटमा
प्रतियोगिताको पहिलो सेमिफाइनल मेगा थ्रीस्टार क्लब र यति हिमलायन शेर्पाबीच हुनेछ । खेल साँझ ६ बजेदेखि हुनेछ । दुवै सेमिफाइनल र फाइनल फ्लडलाइटमा हुने आयोजकले जानएको हो । दुईपटकको विजेता थ्रीस्टार क्लबको महत्त्वपूर्ण खेलमा हिमालयन शेर्पासँगको परिणाम भने राम्रो रहँदै आएको छ । पछिल्लो सत्रको सहिद स्मारक लिग र राष्ट्रिय लिगका दुवै खेलमा थ्रीस्टार १–० ले विजयी भएको थियो । मनाङबाट सन्तोष साहुखललाई भित्र्याए पनि महत्त्वपूर्ण खेलमा गोल गर्ने बुद्ध चेम्जोङ नै हिमालयनसँगको खेलमा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यसैगरी प्रतियोगितामा सानदार फर्ममा रहेका हिमालयनका दिनेश कार्की पनि पहिलो सेमिफाइनलमा हेर्नलायक खेलाडीको रूपमा रहने निश्चित छ । एएफसी च्यालेन्जकपपछि फ्लडलाइटमा हुन लागेको खेलमा प्रभावकारी डिफेन्डिङ मिडफिल्डर थ्रीस्टारका विक्रम लामा र हिमालयनका रूपेश केसीको प्रदर्शन दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।

प्रतिक्रिया