३६ यात्रु सहायता कक्ष सञ्चालन

मोरंग २६ असोज । यातायात सेवालाई सहज बनाउनका लागि पूर्वीं नेपालमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नेपालीहरूको महान चाडपर्वहरू नजिकिँदै गर्दा देशको विभिन्न भागमा रहेका मानिस आ–आफ्नो घरमा आउने जाने क्रम पनि तीव्र हुने भएकाले यातायातका क्षेत्रमा देखिने असहज अवस्थाबाट यात्रुले दुःख नपाउन भनेर सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरी, पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र यातायातका क्षेत्रमा कार्यरत विभिन्न मजदुर संघ सङ्गठनको सक्रियतामा इटहरीको नयाँ बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष मंगलबारबाट सञ्चालनमा ल्याईएको हो ।

सो अवसरमा क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख पबन गिरीले पूर्वी नेपालको १६ जिल्लामा सञ्चालित यातायात साधन चलेका क्षेत्रमा ३६ स्थानमा इटहरीमा जस्तै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको र यसबाट सम्पूर्ण सेवाग्राही उपभोक्ताले सहज रूपमा यातायातका क्षेत्रमा सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख विष्णुबहादुर पौडेलले यातायातका क्षेत्रमा सर्वसाधारण सेवाग्राहीले प्राप्त गर्नुपर्ने सेवा सुविधाबाट कसैले वञ्चित गरेको अवस्थामा सवारी ऐनअनुसार कारबाही हुने विषयमा यात्रु सहायता कक्षले सर्वसाधारणलाई सघाउने बताए ।

कार्यक्रममा कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद सुवेदीले अहिलेको विषयम परिस्थिति र पेट्रोलियम वस्तुको सहज आपूर्ति नभएको अवस्थामा सडकमा सहज रूपमा सवारी साधन सञ्चालनमा नआएको स्थितिमा सर्वसाधारण यात्रुले सहज सेवा पाउन कठिन भई रहेको बताए ।

उनले इटहरीदेखि दक्षिण विराटनगर क्षेत्रमा सवारी साधन नचलेको भए पनि नेपाल आयल निगमले प्रशासनको पहुँचका आधारमा विराटनगर क्षेत्रमा भने सहज रूपमा पेट्रोलियम वस्तु आपूर्ति हुनुले यातायात चलेको क्षेत्रमा कठिनाई भइरहेको गुनासो गरे ।

प्रतिक्रिया