बुटवल, २६ असोज । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि बुटवलमा सस्तो दसैँ बजार सुरु भएको छ । संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा पाँच दिनसम्म चल्ने दसैँ बजारको मंगलबार रूपन्देहीका सिडिओ विष्णु प्रसाद ढकालले उद्घाटन गरे । सो अवसरमा बोल्दै ढकालले यस्ता सस्तो दसैँ बजारले उपभोक्तालाई सहज हुने बताए । उनले दसैँको समयमा व्यापारीबाट उपभोक्ता ठगिने हुनाले यस्तो सस्तो मेलाले उपभोक्ताहरू ठगिनबाट समेत जोगिने बताए । मेलामा ३२ स्टल राखिने भएको छ ।
संघले हरेक वर्ष विजया दशमीको अवसरमा दैनिक उपभोग्य वस्तु, लत्ता कपडासहितका विभिन्न वस्तुहरू रहने गरी सस्तो बजार सञ्चालन गर्दै आएको छ । यस बर्षको दसैँ बजारमा पनि मत्स्य बिकास केन्द्र, साल्ट टेड्रिङ, दुग्ध बितरण संस्थानसहित बिभिन्न औद्योगिक प्रतिष्ठानका माछा, मासु, ध्यु, तेल, नुन, चिनिसहितका खाद्यान्न लत्ताकपडा तथा नेपाल राष्ट्र बैंकबाट नयाँ नोटको व्यवस्था गरिने संघका कार्यसमिति सदस्य तथा बजार व्यवस्थापन समितिका संयोजक बिमलराज भट्टराईले जानकारी दिए । अहिले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको अवस्थामा बिकेट र चुल्होको बिक्रिवितरणको व्यवस्था गरिएको भट्टराईले बताए ।
संघका अध्यक्ष महेशमान सिहंको अध्यक्षता, कार्यक्रम संयोजक विमलराज भट्टराईको स्वागतमा भएको कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष सेरबहादुर के.सी, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल लाकौल, निर्वतमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, बुटवल उपमहानगर पालिकाका प्रमुख धुव्र खड्कालगायतले बोलेका थिए । कार्यक्रम महासचिव हरि अर्यालले गरेका थिए ।
प्रतिक्रिया