घट्ने भयो धान उत्पादन

dhan_baliरूपन्देही, २५ असोज । मुलुकको धान उत्पादन गर्ने जिल्लाहरू मध्येको एक प्रमुख जिल्ला मानिने रूपन्देहीमा यो वर्ष धानको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । धान बाली उत्पादनका लागि अनुकूल मौसम र पर्याप्त पानी नपरेका कारण यस वर्ष धान उत्पादनमा कमी आउने कृषि विज्ञहरूले जनाएका छन् ।

तराईका जिल्लामा परेको लामो समयसम्मको खडेरी र दोस्रो पटक छर्नुपर्ने रासायनिक मल छर्न नपाएका कारण यस वर्ष जिल्लामा धान उत्पादनमा ह्रास आउने सङ्केत देखिएको जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले जनाएको छ । पहिला रोपिएको धानमा खासै असर नपरे पनि पछौटे धानमा खडेरीको पूर्ण असर परेको कार्यालयको भनाइ छ । पछौटे धानका पातमा किरा लागेको, गँवारो किरा, पातको थोप्ले रोगको समस्या लगायतका कारणले विगतका वर्षको तुलनामा १२ देखि १५ प्रतिशत उत्पादनमा ह्रास आउने सङ्केत देखिएको हो । यसवर्ष रूपन्देहीमा कुल ६९ हजार ४ सय हेक्टर जमिनमा धान खेती लगाइएको छ । यसअघि आर्थिक वर्ष ०६९÷७० मा कुल ७० हजार ५ सय हेक्टरमा लगाइको धान तीन लाख २४ हजार तीन सय मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७०÷७१ मा कुल ७० हजार पाँच सय हेक्टरमा धान बाली लगाइकोमा तीन लाख ५२ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको र यस वर्ष ०७१÷७२ मा कुल ६९ हजार ६ सय हेक्टरमा लगाइको धान तीन लाख २० हजार एक सय ६० मेट्रिक टन उत्पादन भएको सरकारी आकडा छ ।

रूपन्देहीमा धान उत्पादनको पकड क्षेत्र मानिएका लुम्बिनी, मझगावाँ, धकधई, बोधवार, मानपकडी, सूर्यपुरा, रुद्रपुर, मानमटेरीया, हर्नैया लगायका क्षेत्रमा लगातारको तराई बन्दले गर्दा दोस्रो पटक छर्नुुपर्ने मल राख्न नपाइएकाले त्यति राम्रो धान नभएको कृषकहरूको भनाइ छ । रूपन्देही जिल्ला धान बालीका हिसावले पूर्ण आत्मनिर्भर जिल्ला रहेको कृषि विकास कार्यालय रूपन्देहीका बाली विकास अधिकृत जय महतारा बताउँछन् । विगतका वर्षहरूमा पनि रूपन्देहीबाट ४८ देखि ५० प्रतिशतसम्म धान बाहिर जाने गरेकोले रूपन्देही धान उत्पादनमा पूर्णरूपमा आत्मनिर्भर जिल्ला भएको अधिकृत महताराको भनाइ छ । पछिल्लो समयमा खेतीयोग्य जमिन प्लटिङ् गर्ने प्रवृत्ति बढेकाले क्षेत्रफल घट्दै गएकाले यसले उत्पादनमा पनि प्रत्यक्ष असर पार्ने उनको भनाइ छ । त्यस्तै खेतीयोग्य जमिनमा गरिएको माछापालन, पछिल्लो समयमा बढेको तरकारी खेतीप्रतिको आकर्षण लगायतका कारणले विगतका वर्षको तुलनामा उत्पादन क्षेत्र घट्दै गएको देखिएको छ । भारतबाट आयातित सस्तो चामलले नेपाली कृषकले उत्पादन गरेको धानले मूल्य नपाउने गरेको धकधईका कृषक दिनेशकुमार मौर्य बताउँछन् । व्यापारीहरूले भारतको चामल सस्तोमा खरिद गर्ने र नेपालमा उत्पादित चामलले बजार नपाउँदा कृषकहरू मर्कामा पर्ने गरेको उनको गुनासो छ ।

कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्न सके रूपन्देही कृषिमा राम्रो भविष्य बोकेको जिल्ला रहेको कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीको बुझाई छ । त्यस्तै ठूलो चक्लाबन्दी गरेर कृषि पेसा गर्न सके उत्पादनमा वृद्धि हुने, जसअन्तर्गत कम्तिमा पनि एक बिगाहा जमिनलाई एउटै चक्लामा राखेर खेती गर्न सकिए उत्पादनमा थप वृद्धि हुने अधिकारीको भनाइ छ । त्यस्तै जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये जम्मा १२ दशमलव ४९ प्रतिशत क्षेत्रमा मात्र बाह्रै महिना सिँचाइ गर्न सकिन्छ भने हिउँद र वर्षा याममा मात्र सिँचाई गर्न सकिने जमिन जम्मा ५७ दशमलव ६९ प्रतिशत रहेको कृषि विकास कार्यालय रूपन्देहीको आँकडामा उल्लेख छ । त्यस्तै कुनै पनि समयमा सिँचाई नहुने अर्थात् पानीको कुलो नै नगएको जमिन कुल खेतीयोग्य जमिनको २९ दशमलव ८१ प्रतिशत रहेको आँकडा छ । यसरी हेर्दा सिँचाईको पहुँच पनि सबै क्षेत्रमा पु¥याउन सके विशेष गरी धान खेतीमा रूपन्देहीले फड्को मार्न सक्ने देखिन्छ ।

धान बालीको प्रवद्र्धनका लागि कृषि विकास कार्यालय रूपन्देहीले विभिन्न किसिमका कार्यक्रम चलाउँदै आएको छ । खासगरी किसानहरू जिल्लामा कमै मात्रामा आउने भएकाले गाउँ गाउँमै पुगेर प्रविधि विस्तारमा विशेष जोड दिइने कार्यालयको भनाइ छ । त्यसका लागि एक गाविस एक कृषि प्राविधिक भन्ने अभियान छिट्टै सञ्चालनमा ल्याउन लागिएको छ, पर्याप्त जनशक्तिको अभावमा सबै गाविसमा सम्भव नभए पनि कृषिक्षेत्रमा विशेष पकड मानिएका क्षेत्रमा कृषि प्राविधिक पठाउने तयारी कृषि विकास कार्यालयको रहेको अधिकृत महताराले बताए । त्यसैगरी सरकारले मसिना धान प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको छ । त्यसैगरी राष्ट्रिय बिउविजन कार्यालयको ३० प्रतिशत अनुदानमा रूपन्देहीको करिब ६ सय हेक्टर क्षेत्रफलमा उन्नत धानको बिउ लगाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया