मोरंग, २४ असोज । बेलबारी नगरपालिकाले निर्माण गरेको गुरुयोजनाअन्तर्गत नगर सडक समन्वय समिति तथा सरोकारवालाहरू सम्मिलित एक बैठकले गरेको निर्णयले बेलबारी नगरक्षेत्रका पाँच सय बढी स्थानीय बासिन्दा सुकुम्बासी बन्ने भएका छन् ।
०७२ जेठ ११ गते नगरपालिमा बसेको बैठकले नगर क्षेत्रभित्रका सडकहरूलाई क र ख वर्गमा विभाजन गरी सडक निर्माण गर्ने निर्णयलाई लिएर नगरपालिकाभित्रका सबै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । यो निर्णय कार्यान्वयन भए नगरक्षेत्रका सडक किनारामा पाँच धुर, १० धुर र १ कठ्ठा मात्र जमिन हुने सुकुम्बासी बन्ने पक्का छ ।
स्थानीय बासिन्दाले आइतबार सो निर्णयको विरोधमा नगरपालिका कार्यलयमा हस्ताक्षर बुझाउनुका साथै निर्णय फिर्ता हुनु पर्ने मागसहित विरोध जनाएका छन । नगरपालिका क्षेत्रमा पर्ने क वर्गको सडकहरू लालभित्ती कृषि सेवा केन्द्रदेखि पुर्बउत्तर साथै चोकबाट दक्षिण, सिसौली चौक हुँदै रत्नमार्गमा जोडिएर जाने बाटो, कृषि मार्ग बैजु होटल हुँदै दक्षिणतर्फ, जनमार्ग, पृथ्वीमार्ग, नहर रोड, रामपुरवाट मटिहारी हुँदै जाने रोड, कसेनी मोहनडाँगी मोतिपुर सडकमा ३० मिटर र ख बर्गका सडकहरू थापा चौक, सिंहदेबी हुँदै कोसीहरैचा, फिल्म हलदेखि उत्तर, दुर्गा मन्दिर उत्तर, तिनघरे बस्ती बाटो हुँदै फोकल्याण्ड लोकेझोडा, भगवती मार्ग, सैनिक मार्ग, जोगिचौरबाट पुर्बपश्चिम, जमुनाबारी र पृथ्वीमार्ग जोडिने बाटो, धिमाल टोलबाट दक्षिण धरहरा जोडने बाटो, हुलाकी मार्ग ७ र ८ वार्ड हुलाकी क्षेत्रिय बाटोमा २० मिटर सडक वरपर छोडनुपर्ने गरी गरेको निर्णयलाई स्थानीयले बिरोध गरेका छन । त्यसो गर्दा कम्तिमा नगरपालिका क्षेत्रमा रहेका आठ सय बढी घरहरू जोखिममा परेका छन ।
बेलबारी नगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख मनहरी बराल र नगर विकास अध्यक्ष नगेन्द्र जमरकट्टेललगायत एमालेका बेलबारी नगर अध्यक्ष योगेन्द्र गुरुङलगायत सबै राजनीतिक दलका प्रतिनिधि र स्थानीय संघसंसस्थाका प्रतिनिधिहरूको सो बैठकपछिको निर्णयमा हस्ताक्षर रहेको छ ।
जसमा भीमा मगर, महिला प्रतिभा संघकी शकुन्तला सुबेदी, नारी बिकास संघकी शर्मिला लुंगेली राप्रपाका कृष्ण आनन्द राई, वडा नागरिक मञ्च ६ नम्बर वडाका संयोजक डम्बर बस्नेत, नापी कार्यलयका सुवालाल यादव, बेलबारी– ३ का प्रताप थापा, संघीय लिम्बुवानका जोगबहादुर लिम्बू, खम्बुवान राष्ट्रिय मोर्चाका राजुदेब राई, प्रस्ताबित उद्योग बाणिज्य संघ बेलबारीका सदस्य राजु बस्नेत नगरपालिकाका सुशील सुवेदी, लिला आचार्य, भोला गौतम, खिना बस्नेत, सन्तोष पोख्रेललगायत ३५ को हस्ताक्षर रहेको छ ।
स्थानीय बासिन्दाले दलका प्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरूले जनतालाई धोका दिएको र आपूmखुसी निर्णय गरेको भन्दै आक्रोश पोखेका छन् । यो निर्णयले बेलबारीका पाँच सय बढी धरधुरीका स्थानीय सुकुम्बासी बनाउने भन्दै निर्णय खारेज नभए कानुनी उपचार खोज्नेसमेत स्थानीयहरूले बताएका छन् । नगरपालिकाले नगरस्तरीय राजनीतिक दल, सरोकारवाला निकायलगायतसँग अबिलम्ब छलफल गरी सो निर्णय रोक्नसमेत स्थानीयले माग गरेका छन ।
स्थानीयका तर्फबाट नगरपालिका पुगेका बेलबारी– ४ का सनतकुमार ढकालले कानुनी प्रक्रियामा जानुभन्दा अगाडि नै यो निर्णय फिर्ता लिएको आपूmले हेर्न चाहेको बताए । यदि त्यसो नगरे अदालतमा जानुको विकल्प नभएको बताए । अर्का स्थानीय जनक लिम्बुले नगर परिषद्को भेला तुरुन्तै डाकेर सो निर्णय फिर्ता लिन आग्रह गरे । यदि त्यसो नगरे नगरपालिकाको बिरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताए । सोही बिषयमा प्रतिक्रिया लिन खोज्दा राजनीतिक दलका प्रतिनिधि र नगरपालिकाका कार्यकारी अधिकृतले कुनै कुरा बोल्न चाहेनन् ।
प्रतिक्रिया