रूपन्देही, २४ असोज । मागभन्दा आपूर्ति कम भएपछि बजारमा अहिले तेलको हाहाकार मच्चिएको छ । सरकारले तेलको व्यवस्थापन गर्ने भन्दै अत्यावश्यक सवारीसाधनबाहेक अन्यलाई नदिन सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।
यसैबीच सरकारको योजनाअनुसार जिल्ला बजार अनुगमन समितिले पनि रूपन्देहीमा तेलको व्यवस्थापन गर्न पम्प र भलबारी डिपोको निरीक्षण गरी आवश्यक निर्देशनसमेत दिएको छ ।
जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक सिडिओ मुनका न्यौपानेसहितको टोलीले भलबारी डिपोमा पुगी डिपोको निरीक्षण गर्दै आवश्यक निर्देशन दिएको हो ।
बजार अनुगमन समितिले भलबारी डिपोका प्रमुख दिनेशकुमार यादवलाई भेटी तेलको मौज्दात र तेल वितरणको पारदर्शिताको बारेमा जानकारी लिएको थियो । सो अवसरमा नेपाल आयल निगम भलबारी डिपोका प्रमुख यादवले डिपोमा रहेको तेल मौज्दातको बारेमा जानकारी गराउँदै स्थानीय प्रशासनको पत्रअनुसार आलोपालो गरेर तेल पम्पहरूमा पठाइएको बताए । प्रमुख यादवले भने, ‘हामीसँग सात दिनको लागि मौज्दात छ । पाँच सय केएल डिजल र १५ केएल पेट्रोल छ ।’
अनुगमन समितिका संयोजक मुनका न्यौपानेको नेतृत्वमा वाणिज्य कार्यलय निमित्त प्रमुख विष्णुप्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक चुडा बहादुर कार्की, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष लक्ष्मण बैदवारसहित, पत्रकारको टोलीले पम्पको अनुगमन र डिपोको निरीक्षण गरेको थियो ।
समितिले रिलायन्स पेट्रोलियम डिर्लस अञ्चलपुर, संगम आयल भैरहवा, विशाल इन्टरनेसनल, पडसरीको अनुगमन गरेको हो । पेट्रोलियम पदार्थ अभाव भएपछि स्थानीय प्रशासनले अतिआवश्यक गाडी बाहेक अन्य सवारी साधनलाई डिजल, पेट्रोल नदिन पम्पहरूलाई समेत निर्देश गरेको छ ।
यसैबीच समितीले नेहा जनरल ट्रेडर्सले , शिवजी सब्जी भण्डार, सिद्धार्थ कोल्ड स्टोर, द सेभेन इलाभेन सुपर स्टोर र भैरहवा हस्पिटलको पनि अनुगमन गरेको थियो । अनुगमन पछि जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक सिडिओ न्यौपानेले भने ‘ पेट्रोलियम पदार्थको अभाव खड्किएसंगै त्यसको सही वितरण भएको छ, छैन । कसैले लुकाएर राखेका छन् कि ? डिपोले स्थानीय प्रशासनले निर्देश गरेअनुसार वितरण गरेको छ, छैन भनी अनुगमन ग¥यौँ । सबै ठीकै देखिएको छ ।’
अनुगमनका क्रममा भैरहवा हस्पिटलले सरसफाईमा ध्यान नदिएको र खाद्य पदार्थ बेच्ने तथा स्टोर गर्नेहरूले मूल्यसूची नराखेको पाइएकोले मूल्यसूची राख्न निर्देश समितिले गरेको छ ।
भलबारी डिपोले गुल्मी, पाल्पा, अर्घाखाची, स्यांग्जा, लम्जुंग, गोरखा,रोल्पा, बाग्लुंग, म्याग्दीलाई ६ हजार लिटरका दरले पठाउने निर्णय जिल्ला प्रशासनमा बसेको बैठकले गरेको थियो । सोही अनुसार तेल वितरण भइरहेको छ । रूपन्देहीका पम्पहरूलाई भने प्रति पम्प ३ हजार लिटरका दरले दिने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया