‘सिटामोल नपाउनेको सेवा गर्छु’

डोल्पा, २४ असोज । डोल्पाको त्रिपुराकोट गाविस–२ मा जन्मिएकी मेलिना हमाल अहिले काठमाडौँमा अध्ययन गर्दैछिन् । ललितपुरस्थित पाटन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै गरेकी उनी डोल्पाबाटै पहिलोपटक डाक्टर पढ्दै गरेकी छात्रा पनि हुन् ।

०६५ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी उनले एमबिबिएस छात्रवृत्तिमा निःशुल्क अध्ययन गरिरहेकी छिन् । उनी अहिले एमबिबिएस तेस्रो वर्षमा अध्ययन गर्दै छिन् । हमालले डोल्पाको मध्य भागमा रहेको त्रिपुरा प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा हासिल गरी जनप्रभा उमावि लिकुबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् ।

आफ्नो अध्ययन सकिएपछि बिरामी पर्दा सिटामोलसम्म पनि नपाउने कर्णालीवासीको अहोरात्र सेवा गर्ने उनले सपना छ । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालिकोटलगायत जिल्लाका ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारण सामान्य ज्वरो आउँदा पनि सिटामोल पाउँदैनन् । विकटता र गरिबीका कारण कतिपय सर्वसाधारण रोग पालेर बस्न बाध्य छन् भने प्राथमिक उपचार नपाएर कतिपयले अकालमै ज्यान गुमाउँछन् ।

उनले भनिन् ‘आफ्नो पढाइ सकिएपछि दुर्गमका जनताको सेवा गर्नेछु ।’
ग्रामीण क्षेत्रमा सरकारी स्वास्थ्य चौकी भए पनि महंगी र कष्टकर जीवन शैलीले गर्दा स्वास्थ्यकर्मी बस्न मान्दैनन् । डोल्पाको उत्तरी भेगमा बसोबास गर्ने सर्वसाधारणलाई सामान्य उपचारका लागि तल्लो डोल्पामा रहेको जिल्ला अस्पतालमा आउनु पर्दा कम्तीमा पाँच–सात दिन लाग्छ ।

माथिल्लो डोल्पाका निमा लामा भन्छन् ‘सदरमुकाम महंगो छ । हजारौँ खर्च हुन्छ । जेनतेन सदरमुकाममा पुगे पनि स्वास्थ्यकर्मी भेटिँदैनन् भने कहिले औषधि सकिएको हुन्छ ।’पढाइ सकिएपछि यस्तै समस्याले पिरोलिएका गरिब कर्णालीवासीको पीडामा मलम लगाउन प्रयास गर्ने हमालले बताइन् । यस जिल्लामा दुई वटा एमबिबिएस डाक्टरको दरबन्दी छ तर एकजना पनि बस्न मान्दैनन् ।

‘डोल्पाको दुःख मलाइ थाहा छ, अध्ययनपछि मैले व्यक्तिगत सुखलाई महत्व दिन्नँ,’ हमाल भन्छिन् ‘सुविधा नभएकाले ग्रामीण भेगमा डाक्टर बस्न मान्दैनन् । यहाँ यति धेरै स्वास्थ्य समस्या छ । मलाई बढी सेवा सुविधा चाहिँदैन ।’ डोल्पालगायका जिल्लाका ग्रामीण भेगमा खटिने डाक्टरलाई थप सेवा सुविधा दिइनुपर्ने र नियमित अनुगमनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया