काठमाडौं, २४ असोज । एमाले अध्यक्ष केपी ओली नेपालको ३८औँ प्रधानमन्त्रीका रूपमा आइतबार निवार्चित भएका छन् । उनी एमाओवादीलगायत विभिन्न राजनीतिक दलको समर्थनमा बहुमतले प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहित ३ सय ३८ सांसदको मत प्राप्त गरेका छन् । ओलीसँगै प्रधानमन्त्रीका प्रत्यासी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गरे ।
ओलीले एमालेका १ सय ८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्तसहितका दलले पनि ओलीलाई समर्थन गरेका थिए । उता २ सय ४९ मत पाएका कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका शरदसिंह भण्डारी नेतृत्वका रामसपा र राजकिशोर यादव नेतृत्वका गणतान्त्रिकलगायत केही साना दलले मात्र मत दिएका थिए । व्यवस्थापिका संसद्मा आइतबार भएको निर्वाचनमा ५ सय ८७ जना सांसद सहभागी थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नवनिर्वाचित प्रधानमन्त्री ओलीले सबैलाई साथमा लिएर अगाडि बढ्ने उद्घोष गरेका छन् । उनले प्रधानमन्त्रीको जिम्मेवारीलाई अवसरका साथै चुनौतीको रूपमा लिएको भन्दै उनले मुलुकमा विद्यमान समस्या समाधानका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले एमालेसहितका दलहरूले सहमति तोडेको आरोप लगाएका छन् । संसदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको बताए । तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग नगरेको र पुनःनिर्माण प्राधिकरणसम्ब्न्धी अध्यादेश असफल पारेको आरोप लगाए । ‘आधिकारिक सहमति पालना नगर्नेले सहमतिको कुरा गर्न निरर्थक छ,’ उनले भने, ‘१६ बुँदेमा कहाँ यो कुरा आएको छ । त्यसरी गुमराह गर्नुभएन ।’
कोइरालाले मधेस आन्दोलनतर्फ संकेत गर्दै थोरै लचिलो भएको भए दलहरूबीच सहमति हुने अवस्थामा सहमति नभएको बताए । कोइरालाले आफू राष्ट्रियता र लोकतन्त्रका लागि जेल बसेर यो ठाउँसम्म आएको बताए । उनले आफूले पदका लागि नभएर ‘डेमोक्रेटिक’ प्रक्रियाका लागि उम्मेदवारी दिएको बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकार गठनका क्रममा कांग्रेस नराम्रोसँग चुकेको बताएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीको उम्मेदवारीको प्रस्तावक रहेका प्रचण्डले १६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपछि एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको कुरालाई दोहो¥याएका थिए । उनले सुशील कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्दा आफूलाई निकै दुःख लागेको भन्दै राजनीतिक दलहरू फेरि चुकेको बताए । उनले भने, ‘हामी चुक्यौँ, कांग्रेस नराम्रोसँग चुक्यो । मलाई दुःख छ ।’
दहालले भने, ‘कसैले हामीलाई विभाजित गर्न खोज्दै छ । तिनै शक्तिले हिजो पनि व्यवधान गर्न खोजेको थियो । अहिले पनि त्यही शक्तिले बर्बाद गर्न खोजिरहेको छ ।’ उनले नेपालमा विगतदेखि नै भारतपरस्त र राष्ट्रवादी धारबीच अन्तरसंघर्ष हुँदै आएको भन्दै जंगबहादुर र भीमसेन थापा प्रवृत्तिको स्मरण गरेका छन् । दाहालले संसद्को रोस्टमबाट नेपाली कांग्रेसलाई प्रश्नसमेत गरेका छन्, ‘तपाईंहरू मात्रिका कोइराला पथमा कि बिपी कोइराला ?’
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने प्रधानमन्त्रीका लागि सुशील कोइरालाको उम्मेदवारी ‘प्रजातन्त्रको सुन्दर अभ्यास’ भएको टिप्पणी गरेका छन् । उनले कोइरालाको उम्मेदवारीले राष्ट्रिय एकता र सहमतिको वातावरण नबिग्रिने बताए । उनले भने, ‘यो प्रजातान्त्रिक अभ्यास हो र यसलाई सामान्य रूपमा लिनुपर्छ । यो अभ्यासबाट नेपाल बलियो हुन्छ ।’ उनले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेता पनि राष्ट्रिय समस्याहरूमा सारा देश एक हुने बताएका थिए ।
उनले भने, ‘नेपाली कांग्रेसले ००७ सालको क्रान्ति, ०४६ सालको आन्दोलन र ०६२÷०६३ को आन्दोलनको सफल नेतृत्व गरेको पार्टी हो । नेपालमा नयाँ संविधान आउनु कांग्रेस पार्टीका लागि गौरवको विषय हो ।’ उनले यसैको निरन्तरताको रूपमा अहिले जारी भएको संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको भन्दै एमालेको समेत सहभागिता रहेको मन्त्रिपरिषदले संविधान संशोधन प्रस्ताव पास गरिसकेकाले यसलाई तत्कालै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदैमा नआत्तिन दलहरूलाई आग्रह गरेका छन् । पौडेलले चुनाव लोकतान्त्रिक अभ्यास भएको भन्दै प्रधानमन्त्रीको चुनावलाई आकास झर्न लागेजस्तो अफवाह नफैलाउन आग्रह गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री निर्वाचनका सन्दर्भमा ‘राष्ट्रिय स्वाभिमानका पक्षमा उभिन पाउँदा गर्वको अनुभूति भएको’ बताएका छन् । प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीका समर्थक रहेका थापाले राष्ट्रियताको रक्षाका लागि तुलनात्मक रूपमा ओलीको नेतृत्व सक्षम छ भनेर समर्थन गरिएको उल्लेख गरे ।
‘यो अवस्थामा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र नेपाली जनताको विकास तथा समृद्धिको आकांक्षा परिपूर्ति गर्न तुलनात्मक रूपले ओलीको नेतृत्वमा सम्भव छ,’ थापाले भने । अगामी दिनमा संविधानमा भएका व्यवस्था संस्थागत गर्ने चुनौति रहेको भन्दै उनले विद्यमान राष्ट्रिय संकट समाधान गर्न राष्ट्रिय एकताबाहेक अर्को विकल्प नरहेकोमा जोड दिए ।
थापाले दुई प्रमुख राजनीतिक दलका बीचमा प्रतिस्पर्धाले शुभसंकेत नदेखाएको भन्दै दुईमध्ये एक छान्नुपर्ने अवस्थामा एक रोजेको उल्लेख गरे । ‘आगामी दिनमा ओलीको सरकारले राष्ट्रियताको संरक्षण, तराईका समस्या समाधान गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याउँछ भन्ने अपेक्षाका साथ समर्थन जनाएका छौँ,’ उनले भने ।
सोमबार शपथ
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादवबाट ओलीले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।
प्रतिक्रिया