सिन्धुपाल्चोक, २४ असोज । गत वैशाख १२ गतेको भूकम्पलगत्तै सिन्धुपाल्चोक कारागारबाट फरार कैदी अझै सम्पर्कमा आउन सकेका छैनन् ।
निर्माण गरी हस्तान्तरणसमेत नभएको पक्की कार्यालय भवन भत्केपछि विभिन्न अपराधमा सजाय भोगिरहेका सबै दुई सय १६ कैदी फरार रहेकामा विभिन्न जिल्लामा अहिलेसम्म ६१ जनामात्र सम्पर्कमा आएको र बाँकी एक सय ५५ जना अझै बेपत्ता रहेको कारागार प्रमुख शाखा अधिकृत ओमप्रसाद सुवेदीले जानकारी दिए ।
फरार कैदीमध्ये मानव बेचबिखनमा सजाय भोगिरहेका आठ जना कैदीसमेत रहेका छन् । त्यसमध्ये बाँसखर्क गाविस–९ निवासी सुकुमान दोङसहितका छन् । दोङविरुद्ध छ जना चेली भारतमा बिक्री गरेको अभियोगमा तीनवटा मुद्दामा जिल्ला अदालतले ०६८ असोज १६ मा १६ वर्ष कैद र तीन लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको गरेको थियो ।
उनी चेलिबेटी बेचबिखनका प्रमुख नाइकेका रूपमा परिचित बजिरसिं तामाङका सहयोगी हुन् । बजिर सिंलाई ०६९ सालमा जिल्ला अदालतले एक सय ७० वर्ष कैद सजाय र रु ११ लाख क्षतिपूर्ति र जरिवाना तोकेको थियो । सिन्धुपाल्चोक कारागारबाट पनि चलखेल सुरु गरेपछि चितवन हुँदै सुनसरी कार्यालय सरुवा भएका उनको गत वर्ष जेलभित्रै मृत्यु भएको थियो ।
स्याउले गाविस–२ का अर्का फरार अभियुक्त सन्तोष कार्की ०६८ जेठ १६ गते १० वर्ष कैद र ५० हजार जरिवानाको सजाय पाई कैद सजाय भोगिरहेका थिए । उनले गाउँकै दुई जना चेलीलाई भारतमा लगी बिक्री गरेका थिए । त्यसैगरी हगाम–८ का भीमबहादुर तामाङले बैतडीका एक युवकलाई राम्रो काम लगाउने भन्दै खासामा लगेर रु एक लाखमा बिक्री गरेका थिए ।
उनको खासामै हत्या भएको थियो । अभियुक्त तामाङले ०७० माघ ८ देखि कैदी जीवन बिताइरहेका थिए । अदालतले उनलाई १० वर्ष कैद र ७० हजार जरिवाना तोकेको थियो ।
त्यसैगरी, १० वर्ष लामो कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएका इचोक–६ का दीपक थापा क्षेत्री, १० वर्ष कैदकै सजाय पाएका लाक्पा तामाङ र मीनबहादुर खड्का तथा १५ वर्षको कैद सजाय र ८० हजार जरिवानाको सजाय पाएका नुवाकोट जिल्ला रिखापोखर–६ का रामकृष्ण नेपाली पनि फरार रहेका छन् । उनी काठमाडौंबाट स्थानान्तरण भइआएका थिए ।
उल्लिखित चार जना अभियुक्तले झन्डै आधा दर्जन चेलीलाई भारतमा लगी बिक्री गरेका थिए ।
त्यसैगरी, मानव बेचबिखनको अभियोग लागी काठमाडौँ जिल्लाबाट स्थानान्तरण भइआएकी कल्पना थापामगर, जनकन्या–८ सिन्धुलीकी तुलसा लुंगेली र बराम्ची–२ सिन्धुपाल्चोककी कविता घिमिरेसमेत सम्पर्कमा नआएको प्रमुख सुवेदीले जानकारी दिए ।
विनाशकारी भूकम्पपछि तातोपानी नाका पहिरोले तहसनहस भई मानव बस्ती नै शून्य प्रायः हुँदा खासामा हुने बेचबिखनमा भने कमी आएको छ ।
बाह्रबिसेदेखि तातोपानीसम्मको विभिन्न भागमा ठूल्ठूला पहिरोले तातोपानी नाका पूरै बन्द भएको हुँदा अहिले खासा जाने काम पनि बन्द भएको माइती नेपालकी तातोपानी प्रतिनिधि पवित्रा घिमिरेले बताइन् ।
भूकम्पको मौका छोपेर जिल्लाका विभिन्न चेलीलाई भारत, खाडी राष्ट्र तथा अफ्रिकी मुलुकमा लान भने दलाल सक्रिय रहेको पाइएको छ । यसरी लगेको चेलीलाई विभिन्न नाकाबाट प्रहरीले पक्राउ गरेको समाचार सञ्चारमाध्यमबाट बाहिर आइरहेका छन् ।
यता, चार दशकअघि सजाय तोकिएका बेचबिखनका दलालहरू अझै पक्राउमा परेका छैनन् । मानव बेचबिखनको अभियोगमा जिल्ला अदालतबाट सजाय सुनाइएका ३८ भन्दा बढी दलाललाई समात्न सकिएको छैन ।
अदालतबाट प्रहरीलाई दिइएको फरार अभियुक्तका सूचीमा रहेका ३८ जना मानव बेचबिखनका अभियुक्तलाई पहिचान गर्न नसकेपछि उनीहरू कानुनी फन्दाबाट उम्किन सफल भएका हुन् ।
प्रहरीको तथ्यांकअनुसार जिल्लाको पश्चिमी क्षेत्रको महाकांल गाविस ग्याल्थुमका एक युवकलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा २०३० भदौमा जिल्ला अदालतले पाँच वर्ष सजाय तोकेको थियो । उनी अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने प्रहरी अनभिज्ञ छ ।
खोजी गरे पनि धेरै अघिको घटनामा संलग्न भएका कतिपयले हुलिया परिवर्तन गरेको हुनसक्ने र कतिपय राजधानी तथा विदेश गएको हुनसक्ने डिएसपी विश्व अधिकारीले बताए ।
गत आवमा जिल्लामा दुई मात्र बेचबिखनको मुद्दा दर्ता भएको थियो । तीन वर्षयताका कुनै पनि बेचबिखनको मुद्दा बाँकी नरहेको जिल्ला अदालतबाट जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया