अटो रिक्साको उपयोग बढ्यो

e-rikshwaदाङ, २३ असोज । इन्धन अभावले अटो रिक्सा उपयोग बढेको छ । केही दिनयता अटो रिक्साको उपयोग बढेको छ । इन्धनको अभावमा हुने समस्यालाई कम गर्न अटो रिक्सा उपयोगी देखिएको छ । जम्मा तीन युनिट विद्युत् खर्चमा पूरा चार्ज भई ८० किलोमिटरसम्मको यात्रा तय क्षमता यसको हुन्छ । छोटो दुरीको शहर बजारमा निकै उपयोगी मानिएको छ अटो रिक्सा ।

अहिले पेट्रोलियम पद्धार्थको अभावमा साना यातायातका साधन नचल्दा यात्राका लागि अटो रिक्सा उपयोग गर्नेहरू बढेको अटो रिक्सा चालक यामबहादुर पुनले बताए । ‘पहिले चढ्न हिचकिच्याउनेहरू अहिले सहजै रिक्सा चढ्छन’ उनले भने ।

यसले चालकसहित पाँच यात्रु सहजै बोक्न सक्छ । मालबाहक सामान बोक्ने अटो रिक्सा पनि छ । यो बजार क्षेत्रमा सामान ओसारपसार गर्न निकै उपयोगी देखिएको छ । मानिसले चलाउने रिक्साभन्दा अटो रिक्साले काम छिटो हुने मात्र हैन शारीरिक कष्ट पनि हुँदैन । ‘पेट्रोलियम पदार्थको अभावलाई अहिले अटो रिक्साले केही हदसम्म समाधान गरेको छ, नजिकको यात्रामा अटो रिक्सा उपयोगी सिद्ध भएको छ’ घोराही निवासी किसोर आचार्यले भने ।

स्थानीयवासी रामु गुरुङले भने, ‘सरकारले पनि इन्धनको विकल्पमा यस्ता सवारी साधनलाई प्राथमिकतामा राखेर योजना बनाउन आवश्यक छ ।’ हाल दाङको घोराही, तुलसीपुर र लमहीका बजारमा अटो रिक्सा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया