दसैँमा घर जान नपाइने चिन्ता

काठमाडौं, २० असोज । लामो समयदेखिको बन्द र इन्धन आपूर्ति नहुँदा घर जाने नजाने अन्योलमा विद्यार्थीहरु परेका छन् । दसैँ सुरु हुन लाग्दा पनि टिकटको बुकिङ नखुलेका कारण घर जान नपाइने हो कि भन्ने चिन्तामा विद्यार्थीहरु परेका हुन् ।

तराईमा झण्डै दुई महिनादेखिको बन्द हडताल र भारतको अघोषित नाकाबन्दीको कारण राजधानीमा इन्धन अभावले गर्दा सवारी साधान कम चल्दा विद्यार्थीहरुमा थप समस्या बढेको छ । कहिले दसैँको बिदा होला र घर जाउँला भनि दिन गनेर बसेका विद्यार्थीहरु बसेका विद्यार्थीलाई घर जान भनी राखेको खर्च पनि सकिन लागेको र जान नपाइने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको बताउँछन् । कैलालीदेखि अध्ययनका लागि काठमाडौं आउनुभएकी शारदा खड्का घरबाट ल्याएको पैसा र खाद्यान्न दसैँसम्मका लागि मात्र छ, दसैँमा घर गइहालिन्छ भनेर वास्ता गरिएन, अहिले घरै जान पाइने हो की होइन भन्ने चिन्ता बढेको बताउँछन् ।

त्यस्तै, चिन्ता व्यक्त गछैन् बाँके कोहलपुरका जीवन विक पनि । उनी भन्छन्, ‘घरबाट ल्याएको पैसा सकिन थाल्यो, कोठामा खाना पकाउन ग्यास छैन, तरकारीको भाउ बढेर अड्कल गरिराखेको पैसा पनि सकिन लाग्यो, घर जान नपाए त बिचल्ली नै हुन्छ ।” सविधान बनेपछि झन् सहज होला भनेको त अझ समस्या बढेको बताउनुहुन्छ, त्रिचन्द्र क्याम्पसमा अध्ययनरत पोखराकी  कञ्चन ओली । ‘हामीले त सविधान आएपछि देशमा नयाँ विकासको सुरुवात हुन्छ भन्ने सुनेका थियौँ तर अझ गाह्रो पो भयो,’ उनले भने ।

मुलुकमा हाल देखिएको असहज परिस्थितिका कारण देशका विभिन्न स्थानबाट राजधानी आई अध्ययन गर्न बसेका विद्यार्थीलाई ‘टिकट बुकिङ’ नखुल्दा थप चिन्ता बढको छ ।

‘गाडी बुकिङ पनि खुलेको छैन, यहाँ बस्नका लागि घरबाट ल्याएको पैसा र खानेकुरा पनि सकिन लागेकाले आइरहेको परीक्षामा समेत ध्यान जाँदैन,’ कञ्चनपुरका मुकुन्द भण्डारीले भने । कक्षा ९ मा अध्ययनरत सुनसरीका रेन्जु राईलाई दसँैमा घर गएर सम्पूर्ण परिवारलाई भेट्ने र घुम्ने योजना नै बिग्रन्छ कि भन्ने चिन्ताले पिरोलेको छ । उनले सरकारलाई छिट्टै बन्द खुलाएर घर जाने वातावरण बनाउन आग्रह गरे ।

प्रतिक्रिया