इन्धन पाएपछि राहत

Petrol Ma line ko Photo 2धनकुटा १९ असोज । बन्द, हडताल र अघोषित नाकाबन्दीका कारण इन्धनको हाहाकार भइरहेका बेला सोमबार धनकुटामा पेट्रोल र डिजेल वितरण गरिएपछि सर्वसाधरणले केही राहत महसुस गरेका छन् । स्थानीय प्रशासनको पहल र समन्वयमा जिरोपइन्ट, पात्लेखोला र हिलेस्थित पम्पबाट सवारीसाधनलाई डिजेल र पेट्रोल वितरण गरिएको हो ।

सोमबार मात्रै धनकुटाको जिरोपइन्टस्थित महावीर ट्रेड लिंकबाट नौ हजार लिटर इन्धन वितरण भएको छ । दिनभरमा तीन हजार लिटर पेट्रोल र छ हजार लिटर डिजेल वितरण गरिएको महावीर ट्रेड लिंकका इन्चार्ज गणेश श्रेष्ठले बताए । उनका अनुसार बिहान १० बजेदेखि ठूला सवारीसाधनलाई डिजल वितरण थालिएको थियो । दिउँसो करिब २ बजेबाट साँझसम्म मोटरसाईकल, भेन, कारलगायत साना सवारीलाई पेट्रोल वितरण गरिएको हो । कार, भेनलाई सुरुमा एक हजार पाँच सय रुपैयाँ र मोटरसाइकललाई एक हजार बराबरको पेट्रोल वितरण गरिएको भए पनि सवारीको चाप बढेपछि पुनः घटाएर कार भेनलाई एक हजार र मोटरसाइकललाई पाँच सयका दरले पेट्रोल वितरण गरिएको श्रेष्ठले जानकारी दिए । हजारौँ सवारीले भरेपछि एकै दिनमा महावरि ट्रेड लिंकमा इन्धन सकिएको छ । यता हिलेस्थित निसान र पात्लेखोलास्थित जयश्री गोविन्द फ्युल सेन्टरबाट पनि सोमबार इन्धन वितरण गरिएको छ । पेट्रोल नआएकाले डिजेल मात्र करिब दुई हजार पाँच सय लिटर वितरण गरिएको जयश्री गोविन्द फ्युल सेन्टरका कर्मचारी जित नारायण शाहले जानकारी दिए । त्यस्तै हिलेमा पनि दिनभरमा छ हजार लिटर पेट्रोल वितरण भएको बताइएको छ ।

सवारीमा इन्धन भर्न पेट्रोल पम्पहरूमा दिनभर सवारीको भीड लागेको थियो । धनकुटा जिरोपइन्ट स्थित महावीर ट्रेड लिंकमा तेल भर्न करिब दुई सय मिटर लामो सवारीको लाइन लागेको थियो । सर्वसाधरणले करिब चार घण्टासम्म लाइनमा बसेर सवारीमा इन्धन भरेका हुन् । झन्डै चार घण्टासम्म लाइनमा बसेर मोटरसाइकलमा पाँच सय रुपैयाँको पेट्रोल भरिएको धनकुटा हुलाकटोलमा बस्दै आएका डम्बर लिम्बुले बताए । यता धनकुटा सितलपाटीमा बस्दै आएका सागर सुवेदीले घण्टौँ लाइनमा पर्खंदा पनि अन्त्यमा पेट्रोल सकिएर रित्तै फर्किनुपरेको गुनासो गरे । उनले भने ‘दिनभरि लाइनमा बसियो, बेलुका पेट्रोल सकिएर रित्तै फर्कनुपर्दा हात्ती आयो–हात्ती आयो फुस्सा भनेजस्तै भयो ।’

प्रतिक्रिया