मौलोमा निशान नचाउँदै, दसैँको स्वागत

nishanपाँचथर, १८ असोज । आफ्नो मौलिक परम्परा अनूसार विजया दशमी नजिकिँदै जाँदा पाँचथरका केही लिम्बू समुदाय मार हान्ने तयारीमा जुटेका छन् । मूल रकमी टोलीहरूले गाउँगाउँ घुम्दै मौलो निशानमा बलि दिने खसी, बोका, राँगा र अन्य पूजा सामग्री खरिदका लागि आर्थिक सकलन गर्न थालेका हुन् ।

दशमी तिथिभन्दा तीन दिनअघि सप्तमी तिथिसम्ममा मार काट्न आवश्यक उपभोग्य वस्तुहरूको संकलन गरिन्छ । अष्टमीको दिन बेलुकादेखि पूजाअर्चना सुरु गरेर कालरात्रीको दिन मौलो निशानमा गएर कसैले निशानी नचाएर त कसैले मालसिरी गाएर मार काट्ने चलन छ ।

गाउँका बुढापाका, गन्नेमान्ने र सब्बाहरूलाई मूल रकमी टोलीले फूलमालाले स्वागत गर्ने, मौलोको शीरमा फूलमाला लगाउने, आकाशको देउता, पातलको नाँग नागिनी र चारै दिशाका देवीदेवतालाई भाकेर दुर्गाको पूजा गरिन्छ ।

मार हानेर बलि चढाएको वस्तुको मासु सबै गाउँघरकाले बाँडेर खाने गर्दछन् । पाँचथरको सिवा– ६ मा स्थापित मौलो निशानका मूल रकमीप्रसाद तुम्रोकले मार काट्ने चलनलाई निरन्तरता दिनुपर्ने बताए ।

पछिल्लो केही वर्ष यता लिम्बू जातमा मार काट्ने चलन घट्दै गएको बताउँदै उनले शाह राजाहरूले लिम्बूहरूको किपट खोसे पनि जग्गा रहेको बताए । यसले गर्दा मार काट्ने चलनलाई अझ व्यापकता दिनु पर्ने उनको भनाइ छ ।

पृथ्वीनारायण शाहले लिम्बुवानसँग १८३१ साउन २२ गते स्वराज्यको रूपमा रहने गरी सम्झौता गरेपछि लिम्बू जातमा मार हानेर दसैँ मनाउने परम्पराको सुरुवात भएको लिम्बू समुदायका अगुवा तथा किरात याक्थुङ चुम्लुङका वरिष्ठ संरक्षक राजेन्द्र जबेगू बताउँछन् ।

हिन्दु संस्कारअनुसार दसैँको अघिल्लो दिन मार हान्ने चलनलाई अझ फैलाउँने काम सुब्बाङ्गी प्रथाले गरेको जबेगूको दाबी छ ।

राजा राजेन्द्र शाहको पालामा सुरुवात भएको सुव्वाङ्गी प्रथाले ०३२ सालसम्म तत्कालीन श्री ५ को सरकार सञ्चालनका लागि खर्क, डाँडापाखा, खेतवारी र नदी नालाको राजस्व उठाएर वर्षमा एक दिन दरबारलाई बुझाउने, लिम्बू गाउँहरूमा मार हानेर हिन्दु परम्पराअनुसार दसैँ मनाउन उर्दी गर्ने र उर्दी नमाने कारबाही गर्ने गरेको लिम्बू इतिहासकारहरू बताउँछन् ।

मार हानेपछि घरको भित्तामा दुवै हातको पञ्जा छाप ठोक्ने चलन अहिले पनि विद्यमान छ । पञ्जा छापले मार हानेर दसैँ पनि मनाएको संकेत गर्ने र नगरेको पाइए सो क्षेत्रको सुब्बालाई पदमुक्त गरिदिने गरेको साहित्यकारसमेत रहेका जबेगू बताउँछन् ।

‘शाह वंशीय राजाहरूले हिन्दू धर्म लाद्न मार हनाएर दसैँ मान्न लगाए,’ उनले थपे, ‘तर अहिलेको परिस्थितिमा यो ठिक छैन ।’ तत्कालीन राज्यले धार्मिक र सांस्कृतिक साम्राज्यवादको नीति लिएकै कारण अझसम्म केही लिम्बू समुदायले बलिहाङ तङनाम, कक्फे वा तङनामलगायत मौलिक चाड पर्वहरूलाई नमानेर दसैँ मान्ने गरेको बताइन्छ ।

पाँचथरको थर्पू, सिवालगायत क्षेत्रमा मौलो निशानमा गएर मार हान्ने गरिन्छ । त्यस्तै फिदिम नगरपालिका चोकमा तिनमौले भन्ने ठाउँको नामले चर्चामा रहिआएको छ । मौलोमा लिम्बू समुदायले करिब दुई दशकयता मार हान्ने चलनलाई छोड्दै गएको पाइन्छ । पहिचान र अस्तित्वको खोजीमा रहेका उनीहरू मौलिक चाडपर्वको संरक्षण र संवद्र्धनमा लाग्न थालेका छन् ।

प्रतिक्रिया