पर्वत, १३ असोज । विगत एक हप्तादेखि भारतले गरेको अघोषित नाकाबन्दीको प्रत्यक्ष प्रभाव पर्वतमा पनि देखिन थालेको छ । नाका बन्दीका कारणबाट पर्वतमा रहेका पम्पहरुमा पेट्रोलियम पदार्थको सकिएको छ भने खाना पकाउने एलपी ग्यासको पनि हाहाकार छ । भारतले गरेको नाकाबन्दीका कारणले पम्पहरुले पर्याप्त मात्रामा पेट्रोल र डिजेल स्टक नराखेकाले यस्तो अभाव भएको हो ।
नेपाल आयल निगमबाट एक हप्तादेखि पर्वतको सदरमुकाम कुस्मा बजारमा पेट्रोलियम पदार्थको आपूर्ति हुन नसकेको पम्पका सञ्चालकले बताए । नेपाल आयल निगमबाट नै पेट्रोल वितरण नभएकाले पेट्रोलिय पदार्थको अभाव भएका हो विगत एक हप्तादेखि नै जिल्लामा पेट्रोल र डिजेलको अभाव भएको व्यवसायीहरुको गुनासो रहेको छ ।
इन्धनको अभावमा सडकमा सवारीसाधनको चापसमेत कम हुन लागेको छ भने यात्रुहरु घन्टौँ कुरेर बस्नुपर्ने बाध्यतामा छन् । कतिपय यात्रुहरु सम्बन्धित गन्तव्यमा जाने गाडीहरु सञ्चालन नभएका कारण अलपत्र परेका छन् । सदरमुकामबाट राजधानी जाने र पर्वत जिल्लाको दक्षिण भेग जाने गाडीहरु चल्न छाडेका छन् भने नजिकिँदै गरेको हिन्दूहरुको महान् चाड वडादसैँमा देश विदेशबाट घर फर्कनेहरुका लागि पनि समस्या बनेको छ । आवश्यक सामग्रीहरु नपाइने हो कि भनी सर्वसाधारण चिन्तित हुन थालेका छन् ।
पेट्रोलियम पदार्थको अभावका कारण खाद्यान्न सामानहरु भित्रिन पनि समस्या भएको नाकाबन्दीका कारण उपभोक्ताहरुले सामग्री स्टकका लागि अत्यधिक माग बढेको व्यपारीहरुले बताएका छन् । नाकाबन्दीले गर्दा व्यापारीले राखेको स्टक सामानहरुको मूल्यमा पनि वृद्धि भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
नाकाबन्दीले गर्दा पेट्रोलिय पदार्थको अभावमा २० मेघावाटको निर्माणधीन तल्लो मोदीखोला जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । जिल्लामा सञ्चालित अन्य आयोजनाहरु र विकास निर्माणका कार्यहरु पनि बन्द भएका छन् । विस्तारै रोजगारी र जिल्लाको आर्थिक विकासमा असर गर्ने जानकारहरुले बताउन थालेका छन् ।
प्रतिक्रिया