घाइते ब्वाँसोको सम्भावित कदम

राज्यले यतिबेला ३ वटा कदम उठाए पुग्छ । पहिलो कदम भारतसंगको खुला सीमाना बन्द गर्नु हो । दोस्रो कदम नक्कली नागरिकताहरूको छानबिन गरेर ती सबै खारेज गर्नु हो भने तेस्रो कदम भू–परिवेष्ठित देशले समुद्रसम्मको पहुँचका लागि पाएको अन्तर्राष्ट्रिय कानुन अनुसारको अधिकारका लागि राष्ट्रसंघमा मुद्दा हाल्नु हो । यी ३ वटा कामहरू गर्न सकेको दिनदेखि भारतीय बिस्तारवादी शासकहरू नेपालको खुट्टा ढोग्न आउनेछन् । अहिले हामीलाई भारत होइन, भारतलाई नेपाल चाहिएको अवस्था छ ।

Bharat-Dahalनेपालको संविधान २०७२ ले विगत १० वर्षदेखिको अन्यौलको दृष्य पटाक्षेप गरेपछि त्यसको नयाँ संस्करण कसरी अगाडि बढ्ला भन्ने प्रश्न अबको सबैभन्दा ठूलो जिज्ञासा हो । विदेशीहरूको योजनामा पहिले नै सामाजिक शान्ति र सद्भावलाई भाँडिसकेका दलहरूले जारी गरेको संविधानले आपूmद्वारा सिर्जित समस्याको समाधान गर्ने क्षमता राख्दैन भन्ने कुरा तिनीहरूलाई राम्ररी थाहा छ । जुन विदेशी शक्तिहरूले जुन प्रकारको स्वार्थका लागि यहाँको भू–राजनीतिमा नग्न हस्तक्षेप सुरु गरेका थिए, तिनीहरूको अधुरो तृष्णा आफ्नै ठाउँमा छ । बाह्य शक्तिहरूको योजनाका लागि मात्र परिचालित तत्वहरू नियन्त्रण गर्ने उपायहरूको कार्यान्वयन गर्ने इच्छाशक्ति र चरित्र शासकवादी दलहरूमा छैन । यस्तो अवस्थामा देशको परिस्थिति हिजोका तुलनामा अझ बढी जटिल हुने कुरा स्वतः स्पष्ट छ ।

संविधानको टुंगो दलहरूमा पलाएको देशभक्तिपूर्ण चिन्तन वा स्वविवेकीय निर्णयबाट भएको छैन । यो नेपालको भू–राजनीतिमा परिवर्तन भएको बाहिरी शक्ति सन्तुलनको परिणामका रूपमा देखापरेको छ । यहाँको सत्ता राजनीतिमा आजसम्म कायम रहेको भारतीय प्रभुत्व बिस्तारै अन्यत्र स्थानान्तरण हुने संभावनाका संकेतहरू देखिन थालेका छन् । सामान्यतः विश्वमा बिस्तार हुँदै गएको द्वि–ध्रुवीय समीकरण र विशेषतः नेपालमा त्यसले पार्न थालेको प्रभावका रूपमा संविधान जारी हुनुको घटना देखापरेको छ । पश्चिम एसिया, मध्य एसियाको अफगानिस्तान र द.एसियाको नेपालदेखि पूर्वी एसियाको प्रशान्त महासागरीय क्षेत्रसम्म पैmलिएको अशान्तिभित्रको अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको रणनीति एउटै नक्सामा कोरिएको र एक आपसमा निकै जटिल रहेको तथ्यलाई राम्ररी बुझ्न आवश्यक छ ।

अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक होडबाजीका बीचमा जारी भएको नेपालको संविधानबाट भारतीय विस्तारवादी सत्ता सबैभन्दा बढी चिढिएको छ । संविधानको अन्तर्वस्तुमा दबाब दिन त्यसका प्रतिनिधिहरूले गरेको नेपाल भ्रमण, संविधानलाई स्वागत गर्ने औपचारिक शिष्टता पनि नदेखाएको अवस्था र संविधानको खुसियालीमा आयोजित रात्रिभोजलाई भारतीय राजदूतले बहिष्कार गरेको कुरालाई ध्यान दिने हो भने त्यो नेपालसँगको सम्बन्धमा सहज रूपमा प्रस्तुत हुन्छ भन्ने संभावनालाई एकदमै धुमिल बनाइदिएको छ । त्यसले आपूर्तिका मूख्य नाकाहरू बन्द गरेर नेपाललाई आतंकित पार्ने संकेत दिइसकेको छ । भारतीय सत्ताको विरोधमा निहित रहेका मूलभूत कारणलाई राम्ररी नबुझिकन त्यसले भविष्यमा नेपालका विरुद्धमा कस्तो कदम चाल्नसक्छ भन्ने कुराको अनुमान गर्न संभव हुँदैन ।

भारतीय सत्ताको विक्षिप्तताको पहिलो कारण हो त्यसले नेपाललाई आफ्नै प्रान्त ठान्ने सोच । कथित अखण्ड भारतको स्वप्निल मृगतृष्णा पालेर त्यसले नेपालमाथि गर्नुसम्मको अत्याचार गर्दै आएको छ, विकासका योजनादेखि विदेश नीति सञ्चालनका कामहरूमा तगारो हाल्दै र कर्मचारी नियुक्तिदेखि देशभक्त तत्वहरूको हत्यासम्मका अपराधहरूमा सकृयतापूर्वक भूमिका खेल्दै आएको छ । यस्तो अवस्थामा नयाँ संविधान त्यसको आदेशानुसार पारित नहुनु त्यसका लागि सह्य हुने कुरै थिएन । त्यसमा पनि १२ बुँदे सहमति त्यसैले गराएको हो, जसका पछाडि नेपाललाई आफ्नो पूर्ण उपनिवेश बनाउने र तराईलाई विभाजन गर्ने रङ्गीन सपनाहरू थिए । राज्य पुनर्संरचनाका बहानामा आपैmँले संगठित गरेको नेपाल विरोधी रणनीतिको समापन योजनानुसार हुन नसक्नु त्यसका लागि पाच्य थिएन ।

चिनियाँ प्रभावका कारणले श्रीलंका, बंगलादेश, मालदिभ्स जस्ता देशहरूमा आफ्नो हात काटिएको र भुटानसमेत बिस्तारै चिनियाँ प्रभावभित्र वामे सर्न सुरु गरेको यथार्थताबाट विक्षिप्त हुँदै आएको भारत ती देशहरूभन्दा पनि बढी नियन्त्रणमा रहेको नेपालको सत्ता राजनीतिमा अर्को बाह्य शक्तिको हातमाथि पर्दा मूर्छा नपर्ने कुरै थिएन । नेपालका शासकवादी दलहरूले इतिहासबाट पाठ सिकेर अगाडि बढ्न प्रयास गरे भने सम्पूर्ण दक्षिण एसियामा त्यो अलगथलग देशका रूपमा रहन्छ भन्ने कुराको त्यसलाई राम्रो हेक्का छ । नेपालसँगको पानी राजनीतिमा आँच आउन दिन भारतीय सत्ता आन्तरिक विग्रहमा नराम्ररी फस्ने संभावना छ । नेपालसँगको सम्बन्धका कारण बाह्य दुनियाँमा पर्ने प्रभाव आफ्नै ठाउँमा छ । यी सबै कुराहरूलाई ध्यानमा राखेर त्यसले नेपालविरुद्ध बर्बर कदम चाल्नसक्ने संभावना छ ।

भारतले चाल्नसक्ने संभावित कदमहरू मध्ये एउटा हो आपूर्तिमा व्यवधान । अहिलेको विश्व परिवेशमा नेपाल भारत निर्भर भएर बाँच्नै पर्ने अवस्थामा छैन । त्यसैले तराईको अशान्तिलाई बहाना बनाएर बाहिरी देशहरूबाट आउने सामानहरूको पैठारीमा व्यवधान खडा गर्नु त्यसको पहिलो उद्देश्य हुनेछ । दोस्रो उद्देश्यका रूपमा त्यसले तराईमा पृथकतावादी सशस्त्र संघर्षलाई संगठित गरेर श्रीलंकाको नियति पुनरावृति गर्ने प्रयास गर्नेछ । तेस्रो कदमका रूपमा भारतमा रहेका भारतीय सेनामा कार्यरत नेपालीहरूलाई नेपालविरुद्ध भड्काउनु र रोजगारीका लागि त्यहाँ गएका नेपालीहरूलाई सताउनु जस्ता कृयाकलापहरू देखा पर्नेछन् । नेपालका शासकहरूलाई ज्यू–ज्यानको धम्की दिँदै अधिकतम रूपमा आतंकित पारेर फेरि उठ्नै नसक्ने गरी ढाल्नु त्यसको प्राथमिक लक्षका रूपमा अघि बढ्ने योजना हो ।

सबै नेपालीहरूले भारतीय दासताको सीमालाई तोडेर अघि बढ्ने इच्छाशक्ति देखाउने हो भने यो परिस्थिति त्यसको अत्याचारबाट देशलाई सधँैभरका लागि मुक्त गर्न सकिने सुनौलो अवसर पनि हो । अहिलेको भूमण्डलिकृत दुनियाँमा त्यसको नाकाबन्दीबाट डराउनु पर्ने कुरा छैन । राज्यले यतिबेला ३ वटा कदम उठाए पुग्छ । पहिलो कदम भारतसंगको खुला सीमाना बन्द गर्नु हो । दोस्रो कदम नक्कली नागरिकताहरूको छानबिन गरेर ती सबै खारेज गर्नु हो भने तेस्रो कदम भू–परिवेष्ठित देशले समुद्रसम्मको पहुँचका लागि पाएको अन्तर्राष्ट्रिय कानुन अनुसारको अधिकारका लागि राष्ट्रसंघमा मुद्दा हाल्नु हो । यी ३ वटा कामहरू गर्न सकेको दिनदेखि भारतीय बिस्तारवादी शासकहरू नेपालको खुट्टा ढोग्न आउनेछन् । अहिले हामीलाई भारत होइन, भारतलाई नेपाल चाहिएको अवस्था छ ।

संविधान निर्माणपछिको भारतीय सत्ता घाइते ब्वाँसो हो झम्टिने मौका दिइयो भने त्यसले कसैलाई पनि बाँकी राख्नेछैन भन्ने तथ्यलाई आम नेपाली र विशेषगरी सत्ता दलालहरूले समयमै बुझ्न आवश्यक छ । साथै के पनि बुझ्न आवश्यक छ भने अबको परिस्थिति भनेको भारतीय सत्तालाई मनाउने नाममा त्यसलाई चलखेल गर्नदिने परिस्थिति होइन । विकास निर्माणका योजनाहरूदेखि आपसि सम्बन्ध सुदृढीकरणका कामहरूमा अन्य मित्र राष्ट्रहरूसँग प्रक्रिया सुरु गरिहाल्नु पर्दछ । अन्य देशसँगको सम्बन्ध बिस्तार हुँदै जाने क्रममा नै भारतको दबदबालाई कमजोर बनाउँदै लैजान सकिन्छ । ‘रित्तो गाग्रीले आवाज बढी निकाल्छ’ भन्ने उखान झैँ भारतको बर्बराहट नै त्यो बाह्य र आफ्नै देशभित्रको परिस्थितिका कारण नेपालविरुद्ध केही लछारपाटो लगाउन सक्ने हालतमा छैन भन्ने बुझ्नु पर्दछ ।

प्रतिक्रिया