पहिला कांग्रेस र एमाले अब एमाओवादी

पार्टी राजनीतिमा देखिएका कमी, संगठनात्मक नीतिमा देखिएका कमजोरी, कार्यदिशा तय गर्दा देखिएको अदूरदर्शीपनको समीक्षा नगरी अघि बढ्न सक्दैन । कम्युनिस्ट पार्टीमा छलफल तथा बहस गर्ने फोरम हुन्छ तर बेग्लाबेग्लै समिति  हुँदैन । अहिले पार्टीमा जे गल्ती भइरहेको छ, त्यो गल्ती सच्याउनै पर्छ । एमाओवादीमा अहिले पनि पार्टी विभाजनको कुराले प्राथामिकता पाइरहेको छ ।

nabaraj Gautamनेपाली कांग्रेस र नेकपा एमाले पार्टी विभाजनपछि एकदमै कमजोर देखिएका थिए । गिरिजाबाबुले आफ्नै पार्टीको बहुमत सरकारलाई ढालेर गरेको उपनिर्वाचनपछि कांग्रेसले कहिले पनि बहुमत प्राप्त गर्न सकेन । पार्टी विभाजनपछि नेपाली कांग्रेस एकदमै कमजोर भयो । कालान्तरमा पार्टी एकीकरण भए पनि अझै पनि पार्टीभित्र संस्थापन, शेरबहादुर र रामचन्द्र पौड्यालको छुट्टा–छुट्टै धार छ । त्यस्तो अवस्थामा पनि पार्टीभित्रको वैचारिक समस्यालाई यथावत् राख्दै अघि बढेका कारण दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको हो । अनि नेकपा एमालेले पनि आपूmबाट छुट्टिएको समूहलाई संस्थापन पक्षमै समाहित गरेका कारण अहिलेको अवस्थामा आइपुगेको हो भन्नुमा दुई मत छैन ।
यसबाट पाठ सिकेर माओवादी पनि एकताबद्ध हुनुपर्नेमा त्यसतर्फ अघि बढ्न सकेको देखिँदैन । पार्टी फुटको प्रभाव दोस्रो संविधान सभामा प्रत्यक्ष रूपमा देखियो । एमाओवादी तेस्रो स्थानमा झ¥यो । फुटका कारण संविधानसभाभित्रको समीकरणमा फेरबदल भएसँगै माओवादीले उठाएका प्रगतिशील र जनपक्षीय एजेन्डाहरु कमजोर भए । आफ्नो एजेन्डालाई संविधानसभामा उठाउने औकात एमाओवादीले गर्न सकेन । विप्लव, मात्रिका र मणिले पनि जनयुद्धका मुद्दाहरु ठिक ढंगले उठाउन सकेनन् । टुटफुटले समग्र माओवादी आन्दोलन नै धराशयी हुँदै गयो । माओवादी पार्टीहरु विघटनको डिलमा पुगे । भिरको छेउमा पुगेरसमेत एमाओवादी नेतृत्वको चेत खुलेन । अझै पनि प्रचण्ड र बाबुराम दिनहँु आ–आफ्नो गुटको भेला र प्रशिक्षणमा व्यस्त देखिन्छन् । एकीकृत नेकपा माओवादीभित्र देखिएको वैचारिक विभाजनसँगै पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईबीच अलगधारको विकास भएको हो । यसैकारण अहिले पनि पार्टीभित्र र बाहिर दुई अलग–अलग धार सिर्जना भएका छन् । अहिले मुलुक संविधान निर्माणको अन्तिम अवस्थामा पुगेको छ । डा. भट्टराई संविधान निर्माणको महत्वपूर्ण संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिका रूपमा काम गरिरहेका छन् ।
अहिले पार्टीभित्र माओवादी भनेकै प्रचण्ड र बाबुराम भनेर स्थापित भएको छ । प्रचण्ड र बाबुरामलाई भेटेपछि मात्रै माओवादीलाई भेटेजस्तो हुने अवस्था सिर्जना हुनुमा पार्टी नेतृत्वकै कारणले गर्दा भएको हो । यी दुवै नेता कम्युनिस्ट आन्दोलनका धरोहर हुन् । तर, पनि वैचारिक विभाजन किन ? भन्ने प्रश्न नै अहिले सबैको चासोको विषयका रूपमा रहेको छ । यस्तो अवस्थामा पार्टीले आफ्नो राजनीतिमा देखिएको कमी, संगठनात्मक नीतिमा देखिएका कमजोरी, कार्यदिशा तय गर्दा देखिएको अदूरदर्शीपनको समीक्षा नगरी अघि बढ्न सक्दैन । कम्युनिस्ट पार्टीमा छलफल तथा बहस गर्ने फोरम हुन्छ तर बेग्लाबेग्लै समिति हुँदैन । अहिले पार्टीमा जे गल्ती भइरहेको छ, त्यो गल्ती सच्याउनै पर्छ । एमाओवादीमा अहिले पनि पार्टी विभाजनको कुराले प्राथामिकता पाइरहेको छ । तर पार्टी फुटाउनुपर्ने कुनै अवस्था देखिँदैन ।
एमाओवादीबाट फुटेर मोहन वैद्यले एउटा पार्टी बनाए । उनीबाट पनि चोइटिएर विप्लवले अर्को पार्टी बनाए । विप्लवमा अर्को चिरा आउन सक्छ, वैद्यमा पनि भोलिको दिन अर्को चिरा आउन सक्छ । यसले अन्ततः पार्टी विघटन बनाउनेबाहेक अरू केही गर्न सक्दैन । प्रचण्डलाई ‘विसर्जनवादी’ भन्ने मोहन वैद्य किरण र किरणलाई ‘अराजकतावादी’ भन्ने प्रचण्डबीच भेटघाट भए पनि पार्टी एकताका लागि सैद्धान्तिक सहमति भने हुन सकेको छैन । भेटघाटले जति चर्चा पार्टी एकीरणको कुराले पाउन सकेको छैन । सिंगो पार्टी ‘पार्टी एकता’ को पक्षमा छ । नेकपा माओवादी पनि पार्टी एकताकै पक्षमा रहेको छ । आज जनता र कार्यकर्ताको चाहना पनि यही हो । यद्यपि पार्टी एकीकरण हुन नसक्नु भने दुःखद पक्ष हो ।
पहिलो संविधान विघटन र पार्टी विभाजनको कुरा बिर्सेरे प्रचण्ड पनि आफैँ नेतृत्वमा पार्टी एकीरण गरी नयाँ पार्टी बसाउने उद्घोष गर्दै हिँडे । बाबुरामले काठमाडौंका २÷४ सडक चौडा बनाएको कुरा भजाएर नेतृत्वको दाबी गर्न लागे । वैद्य र विप्लवहरु आपूmहरुलाई सच्चा क्रान्तिकारी दाबी गर्दै आफनै नेतृत्वमा पार्टी एकीकरण गर्नुपर्ने तर्क अगाडि सार्दै रहे । यी सबै अतिवादी सोचले माओवादीको बाँकी रहेको थोरै साख पनि नामेट हुने स्थितिमा पुग्यो । अब आपूmहरु मात्रै राम्रो, आफनो नेतृत्व भए मात्र हुन्छ भन्ने हठ त्यागेर सबै मिल्नु जरुरी भइसकेको छ । मिलेर गएको अवस्थामा पुनः गुमेको शक्ति आर्जन गर्ने पर्याप्त ठाउँ छ । आज पनि माओवादीबाट आस गर्नेहरु धेरै छन् । ठूलो युवाशक्ति माओवादीको पछाडि छ । २१औँ सताब्दी सुहाउँदो नतृत्व र कार्य दिशाको विकास गरी नयाँ शक्ति निर्माण आजको आवश्यकता हो । अहिले नतृत्वले आँट र साहस गर्ने बेला आएको छ । पार्टी रहे मात्र नेता बन्न र नेतृत्वको दाबी गर्न पाइन्छ भन्ने मूल मर्मलाई प्रचण्ड बाबुरामले बुझेको खण्डमा पार्टीले पुनर्जीवन प्राप्त गर्न सक्छ । नेतृत्व हस्तान्तरणले युवामा ऊर्जा पैदा गर्नेछ । कार्यकर्ता जुर्मुराएर कार्य क्षेत्रमा जाने वातावरण निश्चित रूपले बन्नेछ । खासगरी प्रचण्डले इतिहासका अत्यन्त जटिल कालखण्डमा चमत्कारिक निर्णयहरु लिएका कारण माओवादी जनयुद्ध सफल भएको थियो । आज फेरि प्रचण्डले एकपटक त्यस्तै चमत्कारिक निर्णय लिनुपर्ने बेला आएको छ । पार्टीलाई नयाँ र एकताबद्ध गराउन त्यो आवश्यक देखिएको छ ।
तर, दुःखको कुरा एकीकृत माओवादीे पहिलो संविधानसभा निर्वाचनामा सबैभन्दा ठूलो पार्टीको रूपमा अगाडि आए पनि उसले आप्mनो स्थानलाई सुरक्षित राख्न नसक्दा तुलनात्मक रूपमा निकै कमजोर देखिन पुग्यो । प्रचण्डको अपरिपक्व निर्णयका कारण सरकारबाट हट्नुप¥यो । यो भनेको नेतृत्वले समयको माग अनुसार आपूmलाई लान नसकेको कारणबाट आएको परिणामा थियो । डा. भट्टराईले नेतृत्व गरेको सरकारले भने देशमा सुधारको तरंग ल्याउने प्रयास ग¥यो । पार्टीमा नेता विशेषको एकाधिकारको अन्त्य गर्दै भट्टराईको नेतृत्वमा गठन भएको सरकारले केही जनपक्षीय कार्य थालनी गरेका कारण पार्टीमा उनको कार्यकाल सबैभन्दा ठूलो उपलब्धि देखिन पुग्यो । हेटौँडा अधिवेशनमा पनि पार्टी नेतृत्वको गलत प्रवृत्तिको खुलेरै विरोध गर्नसक्ने भट्टराईका कारण पार्टीभित्र र बाहिर उनी थप लोकप्रिय बन्न पुगे ।
पार्टीभित्र लामो समयदेखि नेतृत्व परिवर्तन हुन सकेको छैन । कार्यकर्ता र आम नागरिकले रोजेको व्यक्तिलाई नेतृत्वको जिम्मेवारी प्रदान गर्नु अहिलेको प्रधान आवश्यकता हो । अहिले कम्युनिस्ट पार्टीमा मात्र नभई डेमोत्र्mयाटहरुले पनि नेतृत्व हस्तान्तरणको माग उठाउन थालेका छन् । त्यसैले नयाँ सोचका साथ अगाडि बढ्ने हो भने सर्वप्रथम पार्टी एकीकरण अभियानलाई उच्च प्राथामिकता दिनै पर्छ । जबसम्म पार्टी एक ढिक्का हुन सक्दैन तबसम्म पार्टीभित्रका फरक –फरक धारणा आइरहने हुँदा पार्टी नेतृत्वप्रति कार्यकर्तामा नकारात्मक सन्देश जान सक्छ । त्यसैले पार्टी एकीकरणको मुद्दालाई उच्च प्राथामिकता दिनु परेको हो ।
सधैँ एउटै व्यक्ति नेतृत्वमा बस्नुभन्दा पनि सबैलाई एकीकृत गरी सबैको साझा उम्मेदवारलाई पार्टी अध्यक्षको जिम्मेवारी दिनसके मात्र त्यस्तो पार्टीले अग्रगामी छलाङ मार्ने निश्चित छ । यसतर्फ अब एकीकृत माओवादी नेतृत्वले सोच्नुपर्ने छ । बेलामै यसतर्फ नसोचे भोलि अर्को भयानक परिणामलाई कसैले रोक्न सक्दैन । यसको जिम्मेवारी त्यतिबेला कसले लिने भन्नेमा दुविधा नआउला भन्न सकिन्न ? त्यसैले पार्टी अध्यक्षको जिम्मेवारी पार्टी एकीकरणपश्चात् त्यस्ता व्यक्तिलाई दिऊँ जसलाई लाखौँ जनताले आफ्नो आशाको केन्द्र मानेका छन् । जसले विघटनको संघारमा पुगेको माओवादी आन्दोलनलाई नयाँ किसिमले नयाँ उचाइमा पु¥याउने कार्यदिशा दिन सक्छ । प्रचण्ड बाबुराम दुवै यसमा जानकार छन् । खाँचो छ– केबल नेतृत्वको त्याग र बलिदानको ।

प्रतिक्रिया