सिन्धुपाल्चोक, १९ भदौ । मुलुकहरूमा बौद्ध धर्मावलम्बीहरूले प्रयोग गर्दै आइरहेको पौराणिक थाङ्का विभिन्न रंगद्वारा लेखिन्छ । पछिल्लो समय सिन्धुपाल्चोकमा थाङ्का लेख्ने मात्र होइन बुन्नसमेत थालिएका छन् ।
विभिन्न रंगको सिल्क धागोले बुनेर तयार पारिएको थाङ्का अत्यन्तै राम्रो र मनमोहक हुनुका साथै उच्च गुणस्तरकोसमेत हुने गरेको थाङ्का व्यवसायी बताउँछन् ।
रंगले लेखिने थाङ्का पुरानो हुँदै गएपछि रंग झर्ने, डिस्कलर हुने र किरालेसमेत खाने गर्दछ भने पकाएको छालाको झोलमा रंग घोलेर लेखिने भएकाले वरिपरिको वातावरणसमेत फोहोर हुनुका साथै थाङ्का लेख्ने खाईवाहरूको स्वास्थ्यमा समेत गंभीर असर पर्ने भएकाले हरेक दृष्टिकोणले सिल्कधागोकै थाङ्का राम्रो रहेको बताउँछन् ।
सिल्कधागो द्वारा तयार हुने थाङ्का डिस्कलर नहुने, मैलो भएमा धुन मिल्ने र किराले समेत नखाने भएकाले पछिल्लोसमय सिल्क धागोले बुनेको थाङ्काको माग बढ्दो रहेको थाङ्का व्यवसायी नुर्बु शेर्पाको भनाइ छ ।
समयको परिवर्तनसँगै नेपालमा नयाँ किसिमको थाङ्का भित्रिएकाले यसबाट राम्रै रोजगारीको अवसर सिर्जना हुने बताएका छन् ।
थाङ्का बौद्धदर्शनमा आधारित चित्रकला हो । यसलाई बौद्धधर्मावलम्बीहरूले पूजाआजाका लागि गुम्बाहरूका साथै घरका पूजाकोठामा राख्ने गरिन्छ । कतिपयले घरको भित्तामा सजावटको साधनको रूपमा पनि राख्ने गरेको छ ।
जिल्लामा उत्पादन हुने थाङका विशेष गरी अमेरिका, भारत, अस्ट्रेलिया, जर्मनी, जापान, स्विट्जरल्यान्ड, ताइवान, सिंगापुर, हङकङ, मलेसियाजस्ता मुलुकमा निकासी हुने गर्दछ । पछिल्लो समय थाङ्काको प्रमुख बजार छिमेकी मुलुक चीन भएको पुरातत्व विभागको तथ्यांकमा छ ।
नेपालमा ०२३ सालमा बौद्धमा आएर बसेका चिनियाँ लामाले धार्मिक दृष्टिकोणले थाङ्का लेख्न थालेपछि यसले व्यावसायिक उत्पादनको रूप लिन पुगेको इतिहास पाइन्छ । यसलाई व्यावसायिक रूप दिलाउन सिन्धुपाल्चोकको लिसंखुका कोन्ज्युवाङदी लामा, चन्द्रसिद्धी लामा, चुण्डुइदोर्जे लामा र कर्मवाङगेल लामाले पहल गरेको थाङ्का व्यवसायी रत्नसागर लामाको भनाइ छ । धार्मिक दृष्टिकोणले थाङ्का लेखन भए पनि पछिल्लो समय जिल्लाका लागि यो व्यवसाय वैदेशिक मुद्रा आर्जनको गतिलो माध्यम बन्न पुगेको छ ।
पर्यटन व्यवसाय एवं अर्थतन्त्रको सुधारका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थाङ्का व्यवसायलाई व्यवस्थित पार्न सरकारले हालसम्म पहलकदमी नगरेको थाङ्का व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया