काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका जनजाति सभासद्हरूले राजधानीमा छुट्टै भेला गरेर संविधानमा संशोधन प्रस्ताव गर्ने तयारी गरेका छन् । नरेन्द्रविक्रम नेम्बाङ, रत्न शेरचन, सूर्यमान गुरुङ, दिलमान पाख्रिनलगायत नेता तथा सभासद्को पहलमा थापागाउँस्थित वानेश्वर बैंक्वेटमा भेला भएको थियो । भेलाले नयाँ संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने नौ बुँदे संशोधन तयार पारेका छन् । पार्टी प्रमुख सतेचक चीनकाजी श्रेष्ठमार्फत संविधानसभामा संशोधन प्रस्ताव दर्ता गर्ने तीन नेताहरूले बताएका छन् । उनीहरूले संविधानसभामा पार्टीले ह्विप जारी गर्नै नमिल्ने भन्दै पार्टीको ह्विप नमान्नेसमेत बताएका छन् ।
कांग्रेसका जनजाति सभासद्ले तयार पारेको संशोधन प्रस्तावमा राज्यको सबै अंग, संरचना र तहमा आदिवासी जनजाति समुदायको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा सहभागिताको अधिकारलाई सुनिश्चित गर्नुपर्ने, जातीय जनसंख्याको आधारमा संघ निर्माण गरिनुपर्ने, आदिवासी जनजाति संवैधानिक आयोगको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, धर्म निरपेक्षतालाई यथावत् राखिनुपर्नेलगायत छन् ।
भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा सभासद् सूर्यमान गुरुङले पहिलेको संविधानसभाले पास गरेको अधिकारलाई कटौती गरिएकोमा दुःख लागेको बताए । ‘पार्टीले सबै जनजातिको संरक्षण गर्छ भनेर नै हामी कांग्रेसमा लाग्यौँ’ केन्द्रीय सदस्य गुरुङले भने, ‘तर, पहिलेको संविधानसभाले पास गरेको अधिकारसमेत हाम्रा नेताहरूले कटौती गरेकोमा दुःख लागेको छ ।’
उनले धार्मिक स्वतन्त्रताबारे नेपाली कांग्रेसकै नेताहरूमा भ्रम रहेको बताए । ‘धार्मिक स्वतन्त्रताबारे हाम्रै साथीहरू भ्रममा छन्’ गुरुङले भने, ‘अहिले धर्मको कुरै नलेख्ने भन्न थाल्नुभएको छ, मैले शेरबहादुरजीसँग पनि भेटेको थिएँ, म झस्किएँ ।’
आफूहरूको आस्था पनि हिन्दू धर्ममै भएको उल्लेख गर्दै गुरुङ हिन्दू वर्णाश्रममा नै वर्ग विभाजन गरिएको उनले बताए । भेलामा सहभागी कांग्रेसका धादिङका सभासद् दिलमान पाख्रिनले संविधानसभामा आफूहरूले फरक मत जाहेर गर्ने बताए ।
कांग्रेस सम्बद्ध जनजाति सभासद्को भेलाले तयार पारेको नौबुँदे संशोधन प्रस्ताव शुक्रबार नै कांग्रेस प्रमुख सचेतकलाई बुझाएका छन् । संविधानसभामा कांग्रेसका ६३ जना जनजाति सभासद् छन् । भेलामा तीन दर्जन बढी सभासद्को उपस्थिति थियो ।
प्रतिक्रिया