काठमाडौं, १ भदौ । ‘तामाङ मिडिया अवार्ड–२०७२’ बाट सञ्चारकर्मीद्वय भक्तबहादुर स्याङतान र बुद्धप्रसाद तामाङ सम्मानित भएका छन् । २१ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ सञ्चार समूहले सो अवार्ड प्रदान गरेको हो ।
सम्मानित पत्रकार स्याङतान रेडियो नमोबुद्ध काभ्रेका स्टेसन म्यानेजर हुन् । अर्का पत्रकार तामाङ औजार दैनिक र सगरमाथा टेलिभिजनका भोजपुर जिल्ला सम्वाददाता हुन् । मंगलबार तमु बौद्ध सेवा समिति अनामनगरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै महासंघ अध्यक्ष डा. विष्टले पछाडि परेका समुदायको आवाज बुलन्द गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । अध्यक्ष विष्टले आफ्नो समुदायको मुद्दालाई सशक्त रूपमा बाहिर ल्याउन समुदायका सञ्चारकर्मीका साथै अन्य समुदायका सञ्चारकर्मीसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।
रेडियो नेपालका समाचार प्रमुख खगेन्द्र खत्रीले रेडियो नेपालले लामो समयदेखि सबै भाषाभाषीलाई स्थान दिँदै आएको बताए । रेडियो नेपालबाट प्रसारित तामाङ भाषाको समाचारसँग जोडेर तामाङ प्रसारण दिवस मनाउने गरेकोप्रति खुसी व्यक्त गर्दै उनले तामाङ समुदायलाई धन्यवाद दिए । रेडियो नेपालबाट प्रसारण हुने समाचारलाई थप समावेशी बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले मुलधारको मिडियामा आदिवासी जनजाति पत्रकारको सहभागिता बढाउन सके मात्र आदिवासी जनजातिका मुद्दाहरू सञ्चारमार्फत स्थापित गराउन सकिने बताए । तामाङ मिडिया अवार्ड छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिंह लामाले तामाङ सञ्चारकर्मीलाई प्रोत्साहित गर्न र सञ्चारक्षेत्रबाट उनीहरूले पु¥याएको योगदानको कदर गर्न अवार्ड प्रदान गरिँदै आएको जानकारी दिए । तामाङ सञ्चार समूहको १६ वटा जिल्ला शाखाहरूमार्फत प्राप्त सिफारिसहरूमध्येबाट दुई जना छनोट गरिएको उनले बताए ।
समूहका अध्यक्ष जगत दोङले ०५१ भदौ १ गते पहिलोपटक तामाङ भाषाको समाचार प्रसारण भएको अवसर पारेर तामाङ प्रसारण दिवस मनाउँदै आएको जानकारी दिए ।
कार्यक्रममा समूहका संरक्षक एवं भाषाविद् अमृत योञ्जन–तामाङले तामाङ सञ्चारको परिचय, इतिहास, वर्तमान अवस्था, चुनौतीलगायत विषय समेटिएको प्रस्तुति राखेका थिए । नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन, ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोलेलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया