कसरी सहलान् हिन्दूहरुले ?

bat_bimat

गाई हिन्दूको पवित्र जनावर हो । हिन्दूले गाईलाई लक्ष्मीको रूपमा पूजा गर्छन् । नेपाल हिन्दूहरूकै देशभन्दा पनि फरक पर्दैन । केही मुस्लिम दाजुभाइबाहेक यहाँ नेपालमा भएका सबै जातिका दाजुभाइ दिदीबहिनी हिन्दू र बौद्ध धर्मभित्रै अटाएका छन् । यहाँ बहु धार्मिक जनता भएको देश भन्नु गलत हो । यहाँ नेपालमा केही क्रिश्चियन धर्मीहरू देखापरेका छन् तापनि क्रिश्चियन धर्म भने ती नेपालमा सनातनदेखि चलि आएको धर्म होइन । ती त भर्खर फाट्टफुट्ट बाहिरबाट प्रवेश गराइएका मात्र हुन् ।
यहाँ ८५ प्रतिशतभन्दा केही बढी जनता हिन्दू र १० प्रतिशतभन्दा केही बढी जनता बौद्ध धर्मीहरू पर्दछन् । बौद्ध धर्म पनि हिन्दू धर्मकै सम्प्रदायभित्र पर्छ, बौद्ध धर्म छुट्टै धर्म होइन । बौद्ध धर्मको स्रोत बुद्ध भगवान् हुन् । बुद्ध भनेको सिद्धार्थ गौतम हुन् । बुद्धलाई हिन्दूले भगवान् विष्णुको नवौँ अवतार मान्दछन् । बौद्ध धर्मी लामाहरूले अथर्व वेद पाठ गर्छन् अथर्व वेद भनेको हिन्दूहरूको चार वेदमध्येको एक हो । अथर्व वेदमा लेखिएको ‘ओम् नमः भगवते वासुदेवायः’ हिन्दू बौद्ध दुवै समुदायको पवित्र मन्त्र हो । त्यसैगरी भगवान् विष्णुको हजार नाममध्ये सिद्धार्थ पनि एउटा नाम हो भन्ने कुरा भागवत् गीताको विष्णु सहस्र नामको सत्ताईसौ श्लोकमा पढ्न पाइन्छ । यो श्लोकबाट यो कुरा प्रष्ट हुन्छ –
अंसख्ययो प्रमेयात्मा विशिष्ट शिष्ट बृच्छुचिः ।
सिद्धार्थ, सिद्ध संकल्पः सिद्धिदः सिद्धि साधनः ।।
यसरी बौद्ध धर्म हिन्दूधर्म भित्रकै एउटा सम्प्रदाय हुँदा यसलाई छुट्टै धर्म भन्न मिल्दैन । बरु हिन्दू धर्मले केही हदसम्म हाँस, बोका, भेडा, राँगा जस्ता जनावरको देवीलाई बली दिनसम्म छुट छ भने बौद्ध धर्ममा त हिंसा विल्कुलै निषेध छ । त्यसैले यो देश हिन्दू राज्य भएको नाताले गाईगोरु मार्नलाई ऐनले सख्त निषेध गरेको छ । हिन्दूधर्म प्रजातान्त्रिक धर्म पनि हो । यो धर्मले कसैको धर्मलाई हस्तक्षेप नगर्ने र कसैलाई हिन्दू धर्म मान्न कर नलगाउने सिद्धान्त बोकेको छ । नेपाल देश संविधानमै हिन्दूराज्य घोषित भएर पनि यसले गाई मार्ने, गाईलाई चोट लगाउनेलाई सजाय गर्नेबाहेक अरू हिन्दूधर्मसम्बन्धी कुनै काम गर्न कसैलाई बाध्य गरेको पनि छैन, त्यसो गर्ने हिन्दू धर्मको सिद्धान्त पनि होइन । हिन्दू धर्मले कसैलाई एकादशीको कृष्णाष्टमी राम नवमी, शिवरात्रिको व्रत बस्नैपर्छ, दशैँ मान्नैपर्छ, सप्ताह पुराण लगाउनैपर्छ भनेर कर लगाउँदैन । आजतक त्यसो गर्न कसैलाई कर लगाएको पनि छैन ।
अब बन्ने संविधानमा नेपाललाई हिन्दूराज्य घोषित नगरे हिन्दू धर्मसापेक्ष राज्य नबनाए गाई मार्ने अपराधलाई राज्यले निषेध गर्न सक्दैन, मिल्दैन पनि । नेपाललाई संविधानमै हिन्दूराज्य नबनाए वर्तमान मुलुकी ऐनको चौपायाको महलमा व्यवस्था भएको गाईलाई मार्न चोटपटक, रगतपक्ष गर्नेलाई सजाय गर्ने गरेको उक्त ऐनको ४ नं. ५ नं., ८ नं., ९ नं., १० नं., ११ नं., १२ नं., १३ नं., १४ नं., १५ नं., १८ नं., १९ नं. लाई पनि बहाल राख्न मिल्दैन, खारेज गर्नुपर्ने हुन्छ । उक्त नं. खारेज नगरी राखे पनि भोली कुनै विधर्मी पक्षले सर्वोच्च अदालतमा संविधानसँग बाँझिने कानुन भनी बदर गर्न माग गरी रिट दायर गर्न सक्छ । यसो भएमा सर्वोच्च अदालतले पनि संविधानमा धर्म निरपेक्ष राज्य भएको अवस्थामा वा संविधानमा राज्य स्वतन्त्र भई कुनै धर्मको पक्ष नलिई तटस्थ भएको अवस्थामा समेत उक्त ऐनलाई वहाल राख्न सक्दैन, रिट निवेदकको मागबमोजिम गाईको सुरक्षा गर्ने ऐनका उक्त नम्बरहरू बाध्य भएर खारेज गर्नैपर्छ । त्यसैले पनि ९५ प्रतिशतभन्दा बढी हिन्दू भएको देशमा गाईको संरक्षण दिन पनि नेपाललाई संविधानमा हिन्दूधर्म सापेक्ष राज्य भनी राख्नैपर्छ ।
कसैको भनाइ हिन्दूधर्म सापेक्ष निरपेक्ष केही पनि नराख्ने भन्ने भनाइ पनि सुनिएको छ । नेपाललाई संविधानमा धर्म निरपेक्ष राज्य भन्नु र हिन्दूधर्म सापेक्ष निरपेक्ष केही नराख्नु कुरा एउटै हो, केही फरक छैन । नेपाललाई संविधानमै हिन्दूराज्य नभने गाईगोरुलाई कसैले पनि मार्न नपाउने गरी वा मार्नेलाई सजाय दिने व्यवस्था गरी कानुन बनाउन मिल्दैन । अहिलेको त्यस्तो ऐन बहाल गरी राख्न पनि मिल्दैन । गाईगोरुको संरक्षण दिनमात्र भने पनि नेपाललाई संविधानमै हिन्दूराज्य भन्नैपर्छ । बौद्ध सम्प्रदायसमेत गरी ९५ प्रतिशतभन्दा बढी हिन्दू भएको देशमा सनातन हिन्दू राज्य नेपालको मौलिकता, आफ्नोपन तथा पहिचानै मेटिने गरी संविधानमा धर्म निरपेक्ष राज्य राख्न र धर्म निरीपेक्ष वा हिन्दूधर्म सापेक्षसमेत केही नलेखी नेपाललाई धर्मप्रति पूर्ण तटस्थ राज्य बनाउन पनि मिल्दैन ।
हिन्दूधर्म सापेक्ष राज्य नबनाए यहाँ ९५ प्रतिशत हिन्दू नागरिकको भावनामा चोट पुग्नेछ । यत्रो बहुमतलाई लत्याएर संविधान बनेमा यसरी बनेको संविधानलाई प्रजातान्त्रिक संविधान भन्न पनि मिल्दैन, किनभने प्रजातन्त्रको मूल मन्त्र नै बहुमतको कदर हो । त्यसमा पनि नेपालको अर्को धर्मी मुस्लिम दाजुभाइहरूले पनि हिन्दूधर्मले कुनै धर्मलाई भेदभाव नराख्ने र हस्तक्षेप नगर्ने सिद्धान्त बोकेको कारण उनीहरूले आफ्नो धर्म स्वतन्त्रतापूर्वक मान्न पाइरहेको हुँदा नेपाललाई हिन्दूराज्य नै कायम रहँदा मात्र आपूm आफ्नो धर्म निर्विघ्नसँग मान्न पाउने भएको महसुस गरी उनीहरूले समेत नेपाललाई हिन्दूराज्य नै कायम गर्न चाहेको बुझिएको छ । अब यहाँ भएको हिन्दू मुस्लिमसमेत गरी ९९ प्रतिशत जस्तो जनताले नोपाललाई हिन्दूराज्य राख्न चाहेपछि धर्म निरपेक्षता तथा धर्म तटस्थता कसलाई वा कसको निम्ति ?
यहाँ अहिले फाट्टफुट्ट भर्खर देखिन थालेका क्रिश्चियनहरू भर्खर अलि–अलि प्रवेश गर्न खोजेका छन् । ती यहाँ नेपालका सनातन धर्मी होइनन् र तिनीहरू १ प्रतिशत पनि छैनन् । यत्रा ९९ प्रतिशत जनताको भावनालाई लत्याएर भर्खर प्रवेश गर्दैका क्रिश्चियनलाई अहिल्यैदेखि स्वागत गर्न आवश्यक छैन । तिनीहरूलाई यहाँ धर्म परिवर्तन गराउने मार्ग सजिलो पार्न नेपाललाई हिन्दूधर्म सापेक्ष राज्य राख्नबाट सरकार तथा सांसद्हरू लगपगाउन मिल्दैन । नत्र हिन्दूधर्मको यो देशमा विधर्मीहरूद्वारा गाई कटाइनेछन् । अनि ९५ प्रतिशत हिन्दूले यो सहन सक्ने छैनन्, अनि आफ्नो ज्यानको प्रवाह नराखी लडाइँ झगडा गर्न होमिने छन्, देशमा गृहयुद्ध, कलह अशान्ति चरम सीमामा पुग्नेछ, भोलि यो देशको मौलिकता र संस्कृति धर्म, पहिचान विलय हुनेछ, सरकारले प्रहरी त के सैनिकै पठाएर पनि यस्तो द्वन्द्व नियन्त्रण गर्न सक्ने छैन । यस्तो अवस्थाको जिम्मेवार वर्तमान पदासीन नेताहरू नै हुनेछन् ।
नेपालमा २०६३ को संविधानबाट तीनवटा महारोग भित्रिसकेका छन् । त्यसलाई अहिल्यै पहिचान गरेर फाल्न नसके पहिले–पहिलेको बेलाको महारोगले अंग–अंग कुहिएर झरेजस्तै देशको अंग–अंग कुहियाएर झारिनेछन्, मतलब राज्यले विस्तारै भू–स्वामित्व गुमाउँदै जानेछ । विदेशी हस्तक्षेप बढ्दै जानेछ ।
त्यो महारोग भनेको संघियता, धर्म निरपेक्षता र नागरिकतासम्बन्धी खुकुलो नीति तथा कानुन । धर्मको विवादै नभएको जातीयताको कुनै द्वन्द्व संघर्ष नभएको यो शान्तिको देशमा धर्मको द्वन्द्व ल्याएको छ र नागरिकता दिने खुकुलो नीति तथा कानुनले नेपालमा नेपालीबराबरकै विदेशीलाई भित्र्याइरहेको अवस्था छ । यो अवस्था २०६३ को संविधानकै उपलब्धि हो भन्न सकिन्छ । यो रोगलाई मौकैमा पहिचानेर नियन्त्रण गर्न नसके पछि पछुताउनुपर्ने हुन्छ । सस्तो र उत्ताउलो लोकप्रियता हत्याउनुभन्दा यसले भविष्यमा देशमा कस्तो असर पार्ला भन्नेतिर दूरदृष्टि राख्नु बुद्धिमानी हुन्छ । प्रगति र उन्नति त पछिल्लो चरण हो, पहिले त देशको सार्वभौमिकता, स्वतन्त्रता र आन्तरिक शान्ति कायम हुनुप¥यो । यस्तो स्थितिमा मात्र देशमा उन्नति र प्रगतिको आशा गर्न सकिन्छ । ताप्केबिना तरकारी पकाउन सकिँदैन, कसौडीबिना भात पकाउन सकिँदैन । पहिले तरकारी पकाउन ताप्के र भात पकाउने कसौडीको स्थिति ठीक राख्नुप¥यो । ताप्के प्वाल मात्र परे पनि तरकारी चुहिन्छ । २०६३ को संविधान तथा त्यसपछि भएको नागरिकता ऐनको संशोधनले विदेशीलाई नेपाली नागरिकता लिन अति सजिलो बनाएकाले सो संविधान बनेपछिको ऐनले झन्डै नेपाली जनसंख्याबराबर विदेशीलाई नेपाली बनाइसकेको छ । नेपाल नागरिकता ऐन २०६३ को दफा ५(२) र दफा ८(४) ले विदेशीलाई नेपाली नागरिकता लिन अति सजिलो बनाएको छ । उक्त ऐनको दफा ४(२) ले नेपाली महिलाले विदेशीसित बिहे गरी जन्मेको बालकबालिका भए नेपालमा जन्मेको र स्थायी बसोबास भएको सिफारिस भए र बाबुको नामबाट विदेशी नागरिकता नलिएको भए अंगीकृत नागकिरता पाउने प्रावधान छ । स्थायी बसोबास गरेको खास आधार केही नचाहिने, यति वर्षदेखि बसिरहेको भन्ने कुरो पनि नचाहिने भएपछि विदेशीसित बिहे गर्ने जति पनि महिलाले आफ्ना बच्चाबच्चीलाई नेपाली नागरिकता बनाइदिन सक्ने भए । किनभने स्थायी बसोबासको कुनै परिभाषा नै छैन ।
त्यसैगरी उक्त ऐनको दफा ८(४) मा कुनै पनि प्रमाण निवेदकले पेस गर्न नसके तीनजनाको सर्जमिनले ऊ नेपाली नागरिक हो भनिदिए मात्र पनि विदेशीले सजिलैसँग वंशजको नेपाली नागरिकता पाउनसक्ने प्रावधान छ । यस्तो ऐन रहिरहने हो भने यो सानो देश छिट्टै विदेशीले भरिनेछ र नेपाल पनि ढिलोचाँडो विदेशीकै हातमा पर्नेछ । संघीयतामा भएको विदेशी चलखेल धर्मसम्बन्धी विदेशी चलखेलले यो देश विलयको स्थितिमा जान धेरै वर्ष लाग्ने छैन । त्यसैले यो कुरालाई सस्तो लोकप्रियताको बसमा परेर नभई यसको भविष्यमा पर्ने असर कस्तो होला भन्ने कुरालाई दूरगामी दृष्टिले हेरिदिनुप¥यो । उपरोक्त बमोजिम, हिन्दूनागरिककै पूर्णतः जस्तो बाहुल्य भएको यो देशमा हिन्दू नागरिकको उपरोक्त चाहना पूरा गरी देशमा शान्ति कायम गर्न नसके नेपालको ९५ प्रतिशत हिन्दूनागरिकले नेपालमा गणतन्त्र असफल भएको सम्झनेछन् ।
(लेखक अधिवक्त हुन् ।)

प्रतिक्रिया