वाणिज्य बैंकको लाइसेन्स खुला गर्ने तयारी

rastra-bankकाठमाडौं, १८ साउन । नयाँ वाणिज्य बैंकको लाइसेन्स खुला गर्ने गृहकार्य नेपाल राष्ट्र बैंकले सुरु गरेको छ । ६ वर्षदेखि लाइसेन्स दिने कार्य रोकिएको छ । ठूलो पुँजीका बैंक भित्र्याउन र खुला बजार अर्थतन्त्रमा बैंकको लाइसेन्स रोक्न नमिल्ने भन्दै राष्ट्र बैंकले ठूलो पुँजी भएका बैंकलाई इजाजत दिने रणनीति बनाएको हो । पुँजीको आधार, सम्भाव्यतालगायतका प्राविधिक पक्षको अध्ययन गरेर नयाँ बैंकको इजाजतका बारेमा राष्ट्र बैंकले आधिकारिक धारणा केही दिनभित्रै सार्वजनिक गर्ने अवस्था देखिएको छ ।
नयाँ बैंकको न्यूनतम चुक्ता पूँजी १५ अर्ब रुपैयाँको हाराहारीमा हुनुपर्ने गृहकार्य केन्द्रीय बैंकले गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पूर्वाधार विकास बैंकको लाइसेन्स दिने सम्बन्धी विशेष व्यवस्था गर्ने उल्लेख छ । पूर्वाधार विकास बैंकका लागि न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकिएको छ । बजेटमा पूर्वाधार विकासको क्षेत्रमा काम गर्न राष्ट्रिय स्तरको पूर्वाधार बैंक स्थापनाका लागि अनुमति दिने सम्बन्धमा विशेष नीतिगत व्यवस्था गरिने उल्लेख छ ।सौर्य समाचार

राष्ट्र बैंक प्रवक्तामा पंगेनी

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गभर्नर कार्यालयका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी नियुक्त भएका छन् । आन्तरिक लेखा परीक्षण विभागबाट गभर्नर कार्यालयमा सरुवा भएसँगै पंगेनी प्रवक्ता नियुक्त भएका हुन् । नवनियुक्त प्रवक्ता पंगेनीले नियुक्तिको सम्बन्धमा सोमबार मात्रै चिठी पाएको बताए । यसअघि राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठ थिए । अनुसन्धान विभागमा छँदा उनलाई प्रवक्तामा नियुक्ति गरिएको थियो । अहिले उनलाई अनुसन्धान विभागबाट राष्ट्र ऋण विभागमा सारिएसँगै प्रवक्ताको जिम्मेवारीबाट अलग्याइएको छ । गभर्नर डा.चिरञ्जीवी नेपालले गत बिहीबार १४ जना कार्यकारी निर्देशकको सरुवा तथा पदस्थापना गरेका थिए । डा. नेपाल गभर्नरमा नियुक्त भएपछि पहिलोपटक विशिष्ट श्रेणीका अधिकारीको सरुवा गरिएको हो ।
निर्देशकबाट कार्यकारी नीर्देशकमा बढुवा भएका शिवनाथ पाण्डेलाई बैंक तथा वित्तीय संस्थाको नियमन विभागको जिम्मेवारी दिइएको छ । सो विभागका मनमोहनकुमार श्रेष्ठलाई आन्तरिक लेखा परीक्षण विभागको जिम्मेवारी दिइएको छ । प्रदीपराज पाण्डेलाई बैंकर्स ट्रेनिङ सेन्टरबाट वित्त व्यवस्थापन विभागमा ल्याइएको छ । बैंकिङ कार्यालयका शिवराज श्रेष्ठलाई जनशक्ति विभागमा ल्याइएको छ । अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठलाई राष्ट्र ऋण विभाग पठाइएसँगै उनको ठाउँमा ऋण विभागका नरबहादुर थापालाई पठाइएको छ । मुद्रा व्यवस्थापनका चिन्तामणि शिवाकोटीलाई कार्यकारी निर्देशकका रूपमा त्यही विभागमा पदस्थापन गरिएको छ । भिष्मराज ढुंगाना पनि विदेशी विनिमय विभागमै कार्यकारी निर्देशकका रूपमा पदस्थापन भएका छन् ।
जनशक्ति विभागका नारायण पौडेललाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ । बैंक सुपरिवेक्षणका लक्ष्मीप्रपन्न निरौलालाई सामान्य सेवा विभागको जिम्मेवारी दिइएको छ । वित्तीय व्यवस्थापन विभागका राजनविक्रम शाहलाई बैंकिङ कार्यालय पठाइएको छ भने नयाँ गठन गरिएको भुक्तानी तथा फछ्र्यौट विभागमा महेश भट्टराईलाई लगिएको छ ।

प्रतिक्रिया