‘सोइनम’ नियात्रामार्फत नेपाली साहित्यमा आएका बिकु लामाको दोस्रो कृति ‘मृत्यु बिर्सिनेहरू’ कविताहरूको सँगालो हो । नियात्रामा चम्किएका बिकुको कविता सिर्जना पनि उत्साहजनक रहेको छ । पैँतालीसवटा कविता रहेको यस संग्रहमार्फत उनले ‘मृत्यु बिर्सिनेहरू’लाई नैतिक सन्देश दिन खोजेका छन् । यस संग्रहभित्रका कवितामा प्रेम, विछोड, जीवन र जगतको चिन्तन, जीवनप्रतिको आशावादिता र राजनीतिक व्यंग्यजस्ता विविध विषयवस्तुमा आधारित रहेर सिर्जना गरिएको छ ।
कवि बिकु लामाले ‘मृत्यु बिर्सिनेहरू’ लाई जीवनको पाठ पढाएका छन् । उनले जीवनलाई कहिले रंगौली देखेका छन् त कहिले अँध्यारो औँसी । तर पनि जीवनलाई उत्सव ठानेर हाटबजार जस्तै सजाउनुपर्ने उनको विचार छ । उनी मृत्युको अन्तिम क्षणलाई कल्पना गरेर सत्कर्ममा लाग्न आग्रह गर्दछन् । प्रेममै मानिसको जीवन पूर्ण, सफल र सार्थक बन्ने उनले ठोकुवा गरेका छन् । संग्रहभित्रका अधिकांश कवितामा प्रेमिल भावना पाइन्छ तर नग्न प्रेमबाट भने उनी सचेत छन् । प्रेमिकासँग बिताएका सुमधुर पलहरू र अनौठा दिनहरूले कविको हृदयमा उत्ताल तरंग ल्याइदिएको छ । हृदयदेखि मनपराएर पनि मायालुको सिउँदोमा लालीगुराँस सजाउन नपाउँदा कविको हृदय यसरी पोखिएको छ–
मनभित्र मन भएकाले, मन दुख्तो रहेछ । (मनभित्रको मन पृ.६१)
धेरै प्रयास गर्दा पनि असफल भएपछि भाग्यलाई दोष दिँदै सराप्दै बस्नुशिवाय के नै बाँकी रहन्छ र ? नेपाली समाजमा जरो गाडेको भाग्यवादी सोच पनि उनका कवितामा पाइन्छन् । जीवनलाई जीवन बनाउने टेको प्रेम नै रहेको उनको निचोड छ । राजनीति, सत्ता, राज्य र नागरिक एकआपसमा जोडिने विषय भएकाले हरेक नागरिक राजनीतिप्रति सचेत र सजग रहनुपर्ने उनको भनाइ छ ।
उनले माया, प्रेम, विछोड, राजनीति र जीवन दर्शन जस्ता विविध विषयवस्तुलाई ज्यादै सरल ढंगले कवितात्मक शैलीमा प्रस्तुत गरेका छन् । चार पाउयुक्त, चार श्लोके, मुक्त लयका उनका कवितामा अन्त्यानुप्रासको मिठो संयोजन छ । वर्ण तथा शब्दको आवृत्तिले पनि लयात्मकताको सिर्जना गरेको पाइन्छ । आख्यानमा सिद्धहस्त देखिए पनि कवितामा भने उनी बामे सर्न खोजेको आभास यी कविताहरूले दिएका छन् । ज्यादै सरल लोकलयको प्रस्तुतिले कवितालाई कविता बनाएको छ । लयमा जति सरलता देखिएको छ, शाब्दिक छनोट पनि त्यस्तै सरल पाइन्छ । उनका कवितामा झर्रा नेपाली शब्ददेखि अंग्रेजी भाषाका शब्दहरू जस्तै : भ्यालेन्टाइन, सरप्राइज आदि शब्दहरूको प्रयोग भएको पाइन्छ ।
निलो आवरणमा उत्कृष्ट सज्जामा रहेको प्रस्तुत ‘मृत्यु बिर्सनेहरू’ कविता संग्रहलाई याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याएको हो । यसको बजार मूल्य एक सय ४० रुपैयाँ मात्र छ । समाजसेवा र आख्यान हुँदै कवितामा छिरेका कवि लामाको यात्रा अनवरत होस् ।
प्रतिक्रिया