काठमाडौं । गायक सन्तोष अधिकारी यतिबेला रोदनको यात्रा गरिरहेका छन् । आफ्नै रचना, संगीत र स्वरमा रहेको ‘रोदन’ एल्बममा समावेश एक गीतमा आशिष अविरलको एरेन्ज रहने भएको छ । जुन गीत रेकर्डिङको क्रममा छ भने एल्बमका अन्य गीतहरूको पनि काम भइरहेको छ ।
गायक अधिकारी गायनमा मात्र होइन, राम्रो शब्द सिर्जनासँगै आपैmँ संगीत भर्न पनि पोख्त छन् । धादिङको बैरेनीस्थित नलाङमा ०४९ सालमा जन्मिएका अधिकारी स्कुलस्तरीय कार्यक्रमदेखि नै गायनमा उत्कृष्ट बन्दै आएका छन् । संगीतका विद्यार्थी दाजु शम्भु अधिकारीको प्रेरणाबाट सांगीतिक क्षेत्रमा लागेका उनी अहिले संगीतमा आफ्नो भविष्य खोज्दै हिँडिरहेका छन् ।
डेढ दर्जनजति गीतमा स्वर दिइसकेका अधिकारी ०६७ सालमा संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । ०६९ सालमा पहिलो एल्बम ‘प्रवेश’ बजारमा ल्याएपछि दोस्रो एल्बम ‘मजा छुट्टै’ श्रोतालाई दिए । दोस्रो एल्बमबाट उनले ‘रापती म्युजिक अवार्ड’मा ‘उत्कृष्ट नवगायक’को अवार्ड पाए भने ‘म्युजिक खबर म्युजिक अवार्ड’लगायत धेरै अवार्डमा उत्कृष्ट पाँचको मनोनयनमा परे ।
संगीतकार प्रकाश गुरुङसँग संगीत सिकेका अधिकारीले डेढ वर्षको आधुनिक संगीतको कोर्स पूरा गरी हाल संगीतकार चण्डीप्रसाद काफ्नेसँग शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेका छन् । करिब तीन वर्षसम्म निरन्तर शास्त्रीय संगीतको कक्षा लिएपछि गायन र संगीतको अलावा उनले एरेन्जको कामलाई पनि निरन्तरता दिए । सेमिक्लासिकल बेसमा रहेर आधुनिक गीत संगीत रचना गर्ने र गाउने गरेका अधिकारी स्कुलदेखि नै नारायण गोपाल र गोपाल योञ्जनको गीतहरूमा अभ्यास गर्दै आएका थिए । (सौस)
प्रतिक्रिया