सीताको मिश्रित प्रदर्शन

koriyaकाठमाडौं, २६ असार । दक्षिण कोरियाको ग्वाङजुमा जारि २८औँ समर युनिभर्सियाड गेम–२०१५ अन्तर्गत तेक्वान्दोमा नेपालकी सीता तामाङले शुक्रबार मिश्रित प्रदर्शन गरेकी छन् ।

छोसुन युनिभर्सिटी जिम्नेसियममा महिला ४९ केजीमुनिको प्रतिस्पर्धामा सीताले पहिलो चरणमा भुटानकी वाङमो छिमीलाई १५–४ ले पराजित गरिन् । अनिताले पहिलो राउन्डमा १०–४, दोस्रोमा ४–० र तेस्रोमा १–० अंक जोडेकी थिइन् । अर्को चरणमा भने सीता थाइल्यान्डकी सोन्खाम चनाटिपसँग ०–१२ ले चुकिन् । यो स्पर्धामा २५ राष्ट्रका खेलाडी सहभागी थिए । तेक्वान्दोमा नेपालबाट तीन महिला खेलाडी सहभागी छन् । महिलाको ७३ केजीमाथि शनिबार निशा रावलले चीनकी निउ लु लुसँग प्रतिस्पर्धा गर्नेछिन् । नेपालको अन्तिम भिडन्तमा निमा गुरुङले आइतबार कोलम्बियाली प्रतिद्वन्द्वी पेड्रोजो इरिक सेसिलियाको सामना गर्नेछिन् । निशाको तौलसमूहमा २१ र निमाकोमा ३४ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नविता पराजित
टेबलटेनिसको महिला सिंगल्सको ग्रुप ‘२२’ को लिग खेलमा नेपाल नम्बर वान नविता श्रेष्ठ पराजित भएकी छन् ।
नविता मोल्दोभाकी ब्लिजनेट ओल्गासँग सोझो सेटमा ११–३, ११–६ र ११–६ ले पराजित भइन् । पराजयका बाबजुद नविता यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेकी थिइन् । नकआउट चरणको पहिलो खेलमा नविताले शनिबार चाइनिज ताइपेइकी छेङ आइ छिङविरुद्ध खेल्नेछिन् ।
ब्याडमिन्टनमा पराजय
ब्याडमिन्टनमा नेपाली खेलाडी पराजित भएका छन् । पुरुष÷महिला सिंगल्स र मिक्स डबल्स गरी तीन स्पर्धामा दीपक बोहरा र नङशलदेवी तामाङले नेपालको चुनौति प्रस्तुत गरेका थिए ।
ह्वासुन हानियम कल्चर स्पोर्ट्स सेन्टरमा भएको मिक्स डबल्समा दीपक र नङ्शलको जोडी थाइल्यान्डका इसारा बोदिन र प्राजोङजाइ रविन्डाको जोडीसँग २१–८ र २१–२ को सोझो सेटमा पराजित भए । पुरुष सिंगल्समा दीपकले प्रतिद्वन्द्वी सर्बियाका इगोर जेलानलाई नतिजा ११–२१ र ११–२१ ले सुम्पिए । महिला सिंगल्समा अमेरिकाकी एन्जेला झाङले नङ्शललाई २१–१३ र २१–१० ले पछि परिन् ।
ब्याडमिन्टनसँगै पाँच खेलमा नेपालको चुनौति समाप्त भइसकेको छ । यसअघि नेपाली खेलाडी लनटेनिस, आर्चरी, फेन्सिङ र पौडीबाट बाहिरिसकेका छन् । नेपालले विभिन्न सात खेलमा १९ खेलाडी सहभागी गराएको छ ।
समाधिस्थलको अवलोकन
१९८० को मे १८ मा दक्षिण कोरियाको ग्वाङजुमा भएको प्रजातान्त्रिक आन्दोलनमा साहादत प्राप्त गरेका सहिदहरूको स्मृतिमा निर्मित राष्ट्रिय समाधिस्थलको नेपाली अफिसियल टोलीले शुक्रबार अवलोकन ग-यो । नेपाली टोलीका प्रमुख प्रदीप जोशीको नेतृत्वमा नेपाली टोली समाधिस्थल पुगेको थियो ।
ग्वाङजु अग्नि तथा सुरक्षा स्टेसनले नेपाली टोलीको सम्मानमा उक्त अवलोकन भ्रमण आयोजना गरेको हो । त्यसअघि स्टेसनले विभिन्न स्थानको अवलोकनका लागि भ्रमणको व्यवस्थासमेत मिलाइदिएको थियो । समाधिस्थलमा नेपाली टोलीले दिवंगतको चिरशान्तिको कामना गर्दै मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । सात सय २० सहिदको समाधि रहेको बताइएको छ ।

प्रतिक्रिया