कानो (नाइजेरिया), २१ असार । उत्तरपूर्वी नाइजेरियाली सहर पोटिस्कुममा अवस्थित एक चर्चभित्रै आइतबार भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
चर्चमा प्रार्थना गरिरेहका पाँच व्यक्ति आत्मघाती आक्रमणमा मारिएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पोटिस्कुमको बाहिरी इलाकामा रहेको जिगावा क्षेत्रमाअवस्थित सो चर्चमा विस्फोटक पदार्थ विस्फोट गराइएको हो ।
चर्चमा प्रार्थना गरिरेहका चार व्यक्तिको घटनास्थलमै मृत्यु भएको र अर्का एक घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । एक प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई सो जानकारी दिएका छन् ।
आत्मघाती आक्रमणमा एक महिला, उनका दुई सन्तान, एक पादरीलगायत प्रार्थनामा नै रहेका अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने सर्तमा प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएको छैन । तर योबे राज्यको व्यापारिक राजधानी पोटिस्कुममा गत छ वर्षयता बोको हराम आतङ्ककारी समूहले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।
योबे राज्यकै छिमेकमा पर्ने बोर्नो राज्यमा केही दिनयता आतङ्ककारी समूहले शङ्खलाबद्ध रुपमा मस्जिद, गाउँ र बजार इलाकामा गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
उत्तरी नाइजेरियामा तीसभन्दा बढीको मृत्यु
उत्तरपश्चिम नाइजेरियाको जाम्फाराको मागाजी क्षेत्रमा अज्ञात बन्दुकधारीको आक्रमणमा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।
चिगामा गाउँको कोकेया भन्ने स्थानमा भएको यस आक्रमणको स्थानीय सरकारका अध्यक्ष मुहमद गुसामीले पुष्टि गर्नुभएको छ ।
गुसामीका अनुसार कोकेया गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीले दुई व्यक्तिलाई गोली प्रंहार गरी हत्या गरेका थिए ।
सोही दिन केही घरहरुमा आगजनी गर्नुकासाथै गाईलगायतका कैयौँ घरपालुवा जनावरहरु गाडीमा राखेर लगेका थिए ।
ती आक्रमणकारीहरु भोलिपल्ट पुनः फर्केर आई कोकेयाको छिमेकमा पर्ने गाउँमा आक्रमण गरी ३० भन्दा बढी व्यक्तिको हत्या गरेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।
यसरी हत्या गरिएका व्यक्तिहरुको शव अझै पनि जङ्गलमा बाँकी रहेका बताइएको छ ।
प्रतिक्रिया