सफलता घटेपछि आत्महत्या

Singerमुम्बई । पन्जाबी संगीतजगत्मा एउटा ठूलो क्षति पुगेको छ । केही समयदेखि तनावमा रहेका चर्चित पन्जाबी गायक धर्मप्रीतले आत्महत्या गरेपछि पन्जाबी संगीतजगत्मा क्षति पुगेको हो । धर्मप्रीतले सोमबार बठिन्डास्थित निजी निवासमा पंखामा झुन्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारअनुसार सोमबार बिहान उनले लामो समयसम्म ढोका नखोलेपछि छिमेकीहरू आएर घरको ढोका तोडेका थिए । ढोका फोरेर भित्र पस्दा उनीहरूले गायकलाई पंखामा झुन्डिएको अवस्थामा फेला पारेका थिए । उनीहरूले तत्कालै स्थानीय पुलिसलाई घटनाबारे जानकारी गराएका थिए । घटनास्थल आइपुगेको प्रहरीले गायकको शवलाई पंखाबाट तल झारेर पोस्टमार्टमका लागि सिविल अस्पतालमा लगेको थियो । घटनाका बखत उनको घरमा उनकी आमा र भान्जा आ–आफ्नै कोठामा थिए । उनकी श्रीमती मञ्जितचाहिँ १० वर्षे छोरो लिएर माइत गएकी थिइन् । उनको कोठाबाट कुनै पनि सुसाइड नोट नभेटिएपछि के कारणले आत्महत्या गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
श्रोतामाझ धर्मप्रीत ‘अज साडा दिल तोड़ता’ बोलको गीतबाट हिट बनेका थिए । यसपछि उनले गाएका ‘दिल किसे होर दा’, ‘टुटे दिल नहीँ जुड़दे’ सहित ३० बढी गीत चर्चित बनेका थिए । पन्जाबका अलावा विदेशमा बसेका श्रोतामाझ उत्तिकै रुचाइएका उनको करियर २००६ पछि ओरालो लागेको थियो । जसकारण उनी जहिल्यै पनि तनावको अवस्थामा देखिन्थे । उनका छिमेकीहरूले पनि तनावकै कारण उनले मृत्यु रोजेको हुनसक्ने अनुमान गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया